Swornakshar Logo

एमालेलाई सिध्याइयो भनेर भ्रम छरेर खुशी मनाउनेहरुलाई महाधिवेशनको उपस्थितिले जवाफ दिएको छः ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याइयो भनेर भ्रम छरेर खुशी मनाउनेहरुलाई महाधिवेशनको उपस्थितिले जवाफ दिएको बताएका छन् । एमालेको बन्दसत्रलाई सम्बोधन गदै उद्घाटनसत्र आम जनताको साथ सहयोग र उपस्थितिले एमाले सिध्याइयो भन्नेहरुलाई राम्रो जवाफ दिएको ओलीले बताए ।

प्रतिक्रियावादीहरुको षड्यन्त्र र सत्तापक्षबाट गरिएका जालझेल षड्यन्त्रका कारण हाम्रो भूमिका प्रतिपक्षी भएको बताए। उनले भने ‘ हामी जनादेशबाट प्रतिपक्षमा पुगेका होइनौँ । यसको अर्थ हाम्रा अगाडि चुनौती थपिएको छ । लोकतान्त्रिक मूल्य, मान्यता र संविधानका सीमालाई नाघेर अघि बढ्ने कोशिश भएकाले यसलाई दृढतापूर्वक प्रतिवाद गर्नु हाम्रो दायित्व हो । न्यायालय र राज्यका अन्य अंगहरु दुरुपयोग हुने स्थिति पैदा भएको छ ।’

आज हामी अत्यन्तै गम्भीरताका साथ पार्टी सञ्चालन गर्नुपर्ने अवस्थामा आएको बताए । विधान महाधिवेशन आयोजना गरेर मुलुकका लागि आवश्यक नीति, विचार र विधिहरु तय गरेका उनले भने,छ,‘ एमालेलाई सिध्याइयो भनेर भ्रम छरेर खुशी मनाउनेहरुलाई विधान महाधिवेशन र दशौँ महाधिवेशनको व्यापक उपस्थिति र सफलताले जवाफ दिएको छ । यस प्रकारको सभाको आयोजना अन्य दलले गर्न सक्दैनन् ।’

कम्युनिष्ट आन्दोलनलाई सहीरुपमा सञ्चालन गर्दै राजनीतिक उपलब्धिलाई गुम्न नदिएर विकासका प्रयासलाई सहीरुपमा अघि बढाउनु आवश्यक भएको बताए । लोकतन्त्रका नटबोल्टहरु कमजोर पार्ने र मुलुकलाई आर्थिकरुपमा चौपट पार्ने स्थितिको समेत सामना गर्न हामी मिलेर अघि बढ्न आवश्यक रहेको बताए ।

नेपाली काँग्रेसले इतिहासका विभिन्न कालखण्डमा आन्दोलनको सहयात्री रहेको कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने काममा भूमिका निर्वाह गरेको र छिमेकी भारतपरस्त नीति लिएको र त्यसका विरुद्ध आफ्नो पार्टीले संघर्ष गरेको बताए ।

ओलीले नेतृत्व चयनका विषयमा पार्टीभित्र प्रतिस्पर्धा होइन, एकता मुख्य कुरा भएको बताए । उनले भने ‘ प्रतिस्पर्धा प्रतिपक्षसँग गर्ने हो । पार्टीमा चौतर्फी घेराबन्दी र केही नेताहरुको व्यक्तिगत स्वार्थका कारण पार्टी चोइट्याउने छुद्र खेल हुँदा पनि आम कार्यकर्ताहरुले पार्टीलाई जुरुक्कै बोकेको देखेर म खुशी छु । आम कार्यकर्ताको उत्साहित मनोबलले समृद्धिको यात्रा सुरक्षितरुपमा अघि बढ्छ भन्नेमा म ढुक्क छु । पाँच दलीय गठबन्धनको कुनै पर्वाह गर्नु पर्दैन । हामी सुदृढ शक्तिका साथ एक्लै निर्वाचनमा गएर एक्लै बहुमत ल्याएर देखाउँछौँ । जनताका छोराछोरी हौँ ।’

अनुशासित र एकताबद्ध पार्टी बनाएर विद्यमान चुनौतीहरुको सामना गर्दै राजनीतिक गतिहीनताबाट मुलुकलाई सही बाटोमा ल्याउन महाधिवेशनले सन्देश दिनुपर्नेछ बताए। उनले पार्टीलाई विचार, भावना, काम र प्रयासहरुमा एकरुपता अपनाएर अघि बढ्न आव्हान गरेका छन् ।

ओलीले नवौँ महाधिवेशनपछि संविधान निर्माणमा सार्थक भूमिका निर्वाह गरेको, पार्टी एकता, तालमेल र सरकारको नेतृत्व गरेको, पार्टीको स्पष्ट विचार र दृष्टिकोणका साथ सामाजिक परिवर्तनको आन्दोलनको अगुवा शक्तिका रुपमा स्थापित गरेको बताएका छन्।

उनले भने ‘पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र सांगठिनिक अराजकताका पक्षधरले वामपन्थीहरुको एकता र तालमेललाई भत्काएर जाली षड्यन्त्रबाट सत्ता गठबन्धन बनेको छ । पार्टीभित्र चौतर्फी हमला हुँदा पनि नेता कार्यकर्ताको मेहन उत्साह र महाधिवेशनमा भएको जनसहभागिताले आफूहरुमा उत्साह थपेको छ। पार्टीलाई विचार, भावना, काम र प्रयासहरुमा एकरुपता अपनाएर अघि बढ्न पर्छ।’