Swornakshar Logo

एमाले महाधिवेशनः चितवनमा सार्वजनिक गाडी चल्न रोक, उद्घाटन स्थान पुग्न दुई देखि चार किमि हिड्नु पर्ने

काठमाडौं । चितवनमा हुने नेकपा एमालेको १० औँ महाधिवेशन उद्घाटनमा दिनभरी पूर्वपश्चिम लगायत सबै यातायात बन्द हुने भएको छ ।

महाधिवेशन हुने स्थानमा मानिसहरुको चहलपहल हुने कुरा स्वभाविक हो । तर पूर्व पश्चिम र राजधानी आउने जाने सबै यातायातहरु बन्द हुने भएका छन् ।

चितवनको नारायणी किनारमा शुक्रबार एमालेको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ। उद्घाटन कार्यक्रममा पाँच लाख मानिस उतार्ने एमालेले बताउदै आएको छ । अधिक मानिसको चापका कारण त्यो दिन चितवन र नवलपुरको गैडाकोटमा यातायात संचालनमा नआउने चितवन जिल्ला प्रशासनले जनाएको छ ।

चितवनको नारायणगढ राजधानी काठमाडौं र देशभर जाने मुख्य सडक जोडिएको स्थान हो । एमाले महाधिवेशन उद्घाटन कार्यक्रमले सार्वजनिक यातायात आवत जावतमा अबरोध हुने जनाइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले शुक्रबार नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र अन्य मुख्य शहरी क्षेत्रमा गाडी चलाउन रोक लगाइएको बताए।

१० गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म गाडी रोकेर मानिसलाई मात्रै हिँडडुल गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

पूर्वबाट आउने गाडीलाई भरतपुर बसपार्कमा र पश्चिमबाट आउने गाडीलाई गैँडाकोटमै रोक्ने व्यवस्था मिलाएको बताइएको छ ।

मुग्लिन हुँदै काठमाडौं, पोखराबाट आएका गाडी बजारभन्दा बाहिर आँपटारीमा रोकिने छन्।

महाधिवेशनका लागि सहभागीहरू दुईदेखि चार किलोमिटरसम्म हिँडेर उद्घाटनस्थल नारायणी किनार पुग्नु पर्ने भएको छ।

उद्घाटन हुने ठाउँ पुग्न नपाउनेका लागि ठाउँ–ठाउँमा डिजिटल डिस्प्ले बोर्ड राखिने एमालेले जनाएको छ।