Swornakshar Logo

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल र लामा बने मन्त्री

हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारसंगै नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामाले बिहीबार मन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद विस्तार गदै दुई मन्त्री थप गरेका हुन् ।

जम्कट्टेलआर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्।

कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए । त्यस यता पहिलो पटक मन्त्रिपरिषद् विस्तार भएको हो । यद्यपि मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन सकेको छैन ।

मन्त्रिपरिषद् विस्तारले पूर्णता नपाएका कारण अझैसम्म मुख्यमन्त्री पाण्डेले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
सत्तारुढ दलहरुबीच भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन नसकेको बताइन्छ । भागवण्डाकै लागि प्रदेश सरकारका केही मन्त्रालय विभाजन गर्ने तयारी भइरहेको छ ।