Swornakshar Logo

विप्लव नेतृत्वको नेकपाद्वारा ३० गते नेपाल बन्द

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थ र खाद्यवस्तुको मूल्य वृद्धिको विरोधमा नेपाल बन्दको घोषणा गरेको छ ।

सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यबृद्धि गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दसहित विभिन्न चरणको आन्दोलनको घोषणा गरेको विज्ञप्ती मार्फत जनाएको छ ।

महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी गर्दै कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, २६ गते प्रचार–प्रसार र साँझ मशाल जुलुस, २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा , २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र कात्तिक ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका छन् । विज्ञप्तीमा सरकारले दिनदिनै असुल गर्ने यो सरकारी लुट कुन प्रयोजनमा प्रयोग गरीन्छ भन्दै प्रश्न गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहन सक्दैन। तसर्थ सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ।’