Swornakshar Logo

सिन्धुलीमा ईश्वर पोखरेल प्रमुख अतिथि भएको कार्यक्रममा झडपको स्थिति बनेपछि निषेधाज्ञा

काठमाडौं । नेकपा एमाले महासचिव ईश्वर पोखरेल प्रमुख अतिथि भएको सिन्धुलीको कार्यक्रममा झडप हुने स्थिति बनेपछि सदरमुकाममा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै सत्ता गठबन्धनले स्थानीय सरकारको विरोध गरेका छन् । सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटन तथा बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले पोखरेललाई बोलाएको थियो । उक्त कुराको सत्ता गठबन्धनले विरोध गरेका छन् । विरोधका बाबजुद पोखरेल सिन्धुली पुगेपछि दुबै पक्षका नेता कार्यकर्ताबीच विवाद भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।