Swornakshar Logo

गठवन्धनले बनायो देउवाबाहेकका शीर्ष नेताको समन्वय समिति

काठमाडौं । सत्तारुढ पाँच दलिय गठवन्धनले सरकारलाई सघाउन समन्वय समिति गठन गरेको छ । सरकारलाई सघाउन भन्दै ११ सदस्यिय समन्वय समिति निर्माण गरेको छ । समितिमा पाँचवटै दलका दुई–दुई जना सहभागी हुने छन् ।

आज बसेको गठवन्धनको बैठकले सो निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिमा ११ जना रहने र उनीहरुमध्ये ३ जनाको नाम टुंगो लाग्न बाँकी रहेको बताए ।

समितिको प्रधानमन्त्री शेरबहादुर देउवा छैनन् । कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई समितिमा राखिएको छ । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहने छन् भने अर्का सदस्यको नाम माओवादीले दिन बाँकी छ ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट माधवकुमार नेपाल छन् । सो पार्टीले पनि अर्को सदस्य छानिसकेको छैन । यस्तै, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव सदस्य छन् भने अर्को नाम पार्टीले दिन बाँकी छ । राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहेका छन् । समितिमा सरकारका तर्फबाट मन्त्री कार्की छन् ।

मन्त्री कार्कीले आसन्न राष्ट्रिय सभाको चुनाव र उपचुनावलाई पनि ध्यानमा राखेर समिति बनाइएको बताए । यस समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि उपस्थिति रहने उनको भनाइ छ ।