Swornakshar Logo

गठबन्धन सरकार जनताप्रति उत्तरदायी छः अर्थमन्त्री शर्मा

हेटौडा । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सरकार जनताप्रति उत्तरदायी रहेको बताएका छन् । आइतबार मकवानपुरको हेटौंडामा आयोजित वाईसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले गठबन्धनको सरकार जनताप्रति उत्तरदायी भएर कामा गरीरहेको बताए ।

सरकारले छोटो समयमा प्रतिस्थापन विधेयक मार्फत् युवा, महिला, विद्यार्थी, बालबालिका, जनयुद्धका घाइते, अपाङ्ग, शहीद परिवार र गरिब जनताको मुद्धामा थोरै भएपनि बजेट विनियोजन गरेर सम्बोधन गर्ने काम गरेको मन्त्री शर्माले बताए ।

सरकार समाजवाद उन्मुख कार्यक्रम कार्यान्वयनतर्फ अग्रसर भएर काम गरिरहेको उनले बताए । सरकार उत्पादनमुखि उद्योग भन्दा स्थापना र संचालन, कृषि क्षेत्रको विकासमा केन्द्रीत रहेर काम गरिरहेको उनको भनाई छ । सरकारले शिक्षा क्षेत्रको विकासमा पनि नयाँ प्रयोगको सुरुवात गरेको उनले बताए ।

राहत उपलब्ध गराउनका लागि सरकारले २ प्रकारको प्याकेज प्रस्तुत गरेको उनको भनाइ छ । सरकारले १० कठ्ठा सम्म धान खेति नष्ट भएका कृषकहरुलाई ६५ प्रतिशत र १० कठ्ठा भन्दा धान खेति नष्ट भएका कृषकहरुलाई ३० प्रतिशतका दरले राहत उपलब्ध गराउने सरकारको तयारी रहेको उनले बताए ।

बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगहरु चल्छ

मन्त्री शर्माले बन्द अवस्थामा रहेको हेटौंडाको कपडा उद्योग संचालनमा आउने बताए । उनले सरकारले उत्पादनमा केन्द्रीत अर्थतन्त्रको योजना लिएको भन्दै बन्द अवस्थामा रहेको उत्पादनमुखि उद्योगहरु संचालनमा ल्याउने बताए ।

उनले सरकारले देशमा रहेका पुराना बन्द उद्योगहरुलाई संचालनमा ल्याउने योजना अनुसार तिव्र रुपमा काम गरिरहेको बताए ।

मन्त्री शर्माले हेटौंडाको कपडा उद्योगसँगै बुटवलको धागो उद्योग, गोर्खाको टायर उद्योग लगायतका बन्द उद्योगहरु संचालनको तयारीमा सरकार रहेको बताए ।

देशको व्यापार घाटा कम गर्न र अर्थतनत्र उकास्नका लागि सरकारले बन्द उद्योगहरु संचालनको नीति लिएको उनको भनाई छ । सरकारले नयाँ उत्पादनमुखि उद्योगहरु स्थापना गरी खेर गइरहेको विद्युत खपतको योजना बनाइरहेको बताए ।

सरकारले आयात प्रतिस्थापन गरी निर्यात बढाउने लक्ष्य लिएर उत्पादनमा जोड दिएको उनको भनाई छ । कृषि जन्य उत्पादनमा वृद्धि गर्न सहुलियत कर्जा, सामुहिक कृषि उत्पादन योजनाहरु ल्याएको मन्त्री शर्माले बताए ।

युवाहरु संगठित हुनुपर्छ

मन्त्री शर्माले विगतदेखि नै माओवादी केन्द्रले जनताको हित र परिवर्तनको मुद्धा बोक्दै आएकाले आज देशमा वर्तमान अवस्थासम्म आइपुग्न सफल भएको बताए । उनले जनताको पक्षमा लागेर जनताको अधिकार जनतालाई नै दिनुपर्छ भन्दै माओवादी संघर्षमा लागेकै कारणले आज देशमा असम्भव मानिएको व्यवस्था परिवर्तन पनि सफल भएको बताए ।

‘देशमा निरंकुश शासन र सामन्तवादको विरुद्ध लड्ने साहस कसैले गरेनन्, माओवादी र प्रचण्डको साहसबाट मात्र आज देशमा यो परिवर्तन प्राप्त भएको छ । देशमा सामन्तवादको अन्त्य माओवादी र प्रचण्ड कै कारण आएको हो, जनताको हक अधिकार संविधानमा लेख्ने काम माओवादीले नै गरेको हो । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र संविधान प्राप्त हुनुमा माओवादी आन्दोलन र प्रचण्डले महत्वपूर्ण योगदान रहेको छ । माओवादीले ल्याएको परिवर्तन देखाएर हिजो असम्भव मानेर बसेका दलहरु आज हामीले ल्याएको व्यवस्था भन्दै व्याख्या गर्नु बेकार हो,’ मन्त्री शर्माले भने ।

‘देशको नेतृत्व अब युवा पुस्ताको हातमा आएको छ । हामीले प्रचण्डलाई नेतृत्व मानेर माओवादीका सिद्धान्त र एजेन्डालाई आत्मसाथ गर्नुको विकल्प छैन् । त्यसैले अब पुनः माओवादीहरूले २०६४ को अवस्थामा फर्कने हो भने सच्चिएर आत्मसमीक्षा गर्दै एकतावद्ध हुन जरुरी छ ।’ उनले थपे ।

विगतको परिवर्तनको संवाहक माओवादी र त्यसको नेतृत्वकर्ता प्रचण्डलाई समाप्त पार्ने खेल प्रतिगामी तत्वहरुबाट भइरहेकाले त्यसका विरुद्ध सजग भएर काम गर्नुपर्ने अवस्था आएको उनले बताए ।