Swornakshar Logo

किसान महासंघ (क्रान्तिकारी) द्धारा किसानलाई घोषणा गरेको राहत छिटो उपलब्ध गराउन सरकारसंग माग

काठमाडौं । अखिल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले केहि दिन पहिला आएको बाढी, पहिरो र डुबानमा परी अन्नबाली नस्ट भएका किसानलाई तत्काल राहत उपलब्ध गराउन सरकारसंग माग गरेको छ ।

किसान महासंघ क्रान्तिकारीले एक विज्ञप्ती जारी गदै नेपाल सरकारले राहतको प्याकेज घोषणा गरिसके पनि हालसम्म किसानहरुले सो राहत प्राप्त गर्न वा प्राप्त हुने कुराको सुनिश्चितता हुन सकेको बताएको छ ।

अध्यक्ष चित्रबहादुर श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘वर्षा, बाढी, पहिरो तथा डुबान प्रभावित सम्पूर्ण किसानहरुको सहभागितामा तत्काल लगत संकलन गरी क्षतिका आधारमा क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र नेपाल सरकारले घोषणा गरेको राहत प्याकेज जनताले अनुभूति गर्ने गरी तत्क्षण कार्यान्वयन गर्न जोड्दार माग गर्दछौँ ।’

देशका विभिन्न भागहरुमा आएको बाढी पहिरा र ढुवानका कारण ३ सय भन्दा धेरै नागरिकहरुले ज्यान गुमाएका छन् । अहिले पनि धेरै मानिस बेपत्ता र घाइते भएका छन् ।

विज्ञप्तीमा अगाडि उल्लेख गरेको छ ‘जीवन र जीविकाको अभिन्न हिस्सा तथा राष्ट्रिय अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान गर्ने धानबाली भित्र्याउने समयमा पर्न गएको यस्तो प्राकृतिक विपद्का कारणले किसानहरुले आफ्ना परिवारका सदस्य, घरखेत, बालीनाली, बिउबिजन, पशुपन्छी र चौपाया गुमाउनुपर्ने अवस्था आयो । किसानहरु पीडा र वेदनाले धुरुधुरु रुनुपर्ने अवस्था सिर्जना भयो । अर्कोतिर सिंगो देशमा खाद्य अभाव हुने अवस्था सिर्जना भएको छ ।’

किसानलाई यस्ता प्राकृतिक विपतिमा सहज तथा सरल तरिकाले तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन हरेक वर्ष कम्तिमा ५ अरब रुपैयाँ बराबरको बजेट विनियोजन गरी ‘किसान राहत कोष (कृषि सहायता कोष)’ स्थापना र माग गरेको छ ।