Swornakshar Logo

घनश्याम भुसाल निकट नेताहरु पालिका अधिवेशनमा पराजित

काठमाडौं । एमालेको रूपन्देहीको सिद्वार्थ नगरपालिकाको नगर कमिटीको अध्यक्षमा उपमहासचिव घनश्याम भुसाल निकट थानेश्वर पौडेल पराजित भएका छन् ।

अर्का उपमहासचिव विष्णु पौडेल निकट मानिएका चक्रबहादुर थापा अध्यक्षमा विजयी भएका छन् ।
थापाले पौडेललाई १ सय ४ मतारन्तरले पराजित गरेका हुन् । २ सय ३६ मतदाता रहेको सिद्धार्थनगर कमिटीमा २ सय २३ मत खसेको थियो ।
थापाले १ सय ६१ मत पाएरका थिए भने पौडेलले ५७ मत मात्र पाएका हुन् । मंगलबार सुरु भएको पालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने भनिए पनि भुसाल निकट नेताहरुले नमानेपछि निर्वाचन भएको थियो । निर्वाचनमा भुसाल पक्षको पुरै प्यानल पराजित भएको छ ।

उपाध्यक्षमा अर्जुनकुमार गिरी र सचिवमा नारायणप्रसाद भण्डारी विजयी भएका छन् । दुवै पौडेल निकट हुन् । अन्य प्रतिस्पर्धीहरू उपध्यक्षमा लक्ष्मी केसी र सचिवमा मनोजकुमार रिजाल पराजय भएका हुन् । उनीहरू दुवै भुसाल निकट हुन् ।
गिरीले १ सय ८७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी केसीले ३४ मत पाएकी छन् ।

उपमहासचिव पौडेल र भुषाललाई समर्थन गर्ने पक्षहरुबीच सहमति हुन नसकेपछि तीन पदका लागि निर्वाचन भएको थियो । पौडेल पक्षका तीनै पदमा निर्वाचित भएका हुन् ।

बाँकी पद भने सर्वसम्मत रुपमै चयन भएका हुन् । उपसचिवमा कुमार गुरुङ र माया कंडेल निर्वाचित भएका छन् ।

चितवन र पोखरा महानगरमा पनि विवाद

चितवनमा एमालेका चार पालिका कमिटीमा सर्वसम्मत नेतृत्व चयन भए पनि बाँकी तीनवटा पालिकामा भने सम्मेलन हुन सकेको छैन । चितवनको भरतपुर महानगर कमिटी अधिवेशन १५ कात्तिकमा हुनेछ । रत्ननगर नगरपालिका, इच्छाकामना गाउँपालिका र खैरहनी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएका हुन् । मंगलबार नगर अधिवेशन भए पनि रत्ननगर र खैरहनीमा आकांक्षी पदाधिकारीबीच बुधबारमात्रै सहमति जुटेको थियो । माडी, कालिका र राप्ती नगरपालिकामा अझै सहमति जुट्न सकेको छैन ।

ओली पक्षका नै अध्यक्षमा धेरै नेताहरु आकांक्ष्ीा भएपछि सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन । ओली पक्ष र उपाध्यक्ष भीम रावल र भुसाल पक्षबीच निर्वाचन भएमा ओली पक्षहरु विजय भएका छन् ।

पोखरा महानगरपालिकामा पनि तीन जना नेताहरुको लडाइँका कारण सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशकै पूर्वमन्त्री किरण गुरुङ र पूर्व गृहमन्त्री खगराज अधिकारीबीचको टक्करका कारण पोखरामा नेतृत्व चयन हुन सकेको छैन । तीनै नेताहरु एक पक्षका भएपनि स्थानीय तहको राजनीतिमा बर्चश्वको लडाइँ भएकाले सर्वसम्मत हुन नसकेको एक स्थानीय नेताले बताए ।

मंगलबारबाट सुरु भएको पालिका अधिवेशनको दोस्रो दिन महानगरमा ५ जना अध्यक्षका आकांक्षीहरू देखिएका छन् । बिहीबारसम्म पोखरामा सर्वसम्मत तरिकाले नेतृत्व चयन गर्ने प्रयास सफल हुन सकेको छैन । अध्यक्षका आकांक्षीमा दिलीप न्यौपाने, धनबहादुर नेपाली, तेजनारायण अधिकारी, दीपक पौडेल र हरिप्रसाद त्रिपाठी रहेका छन् ।