Swornakshar Logo

प्रचण्डको घोषणा : `म चितवनबाटै चुनाव लड्छु´

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। अध्यक्ष प्रचण्डले घुमाउरो पारामा आफू चितवन जिल्ला नछोड्ने र आगामी निर्वाचनमा चितवनबाटै चुनाव बताएका हुन्।

आज भरतपुरमा पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ पाँच वर्षको लागि, तर म चितवन छोड्दिनँ । चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् म चितवन छोडेर अन्त जाँदिनँ ।’

तपाइँलाई काउन्टर दिन एमालेले चितवनमा महाधिवेसन गरेको हो भन्ने कुरा सुनिएको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘एमालले चितवनमा महाधिवेसन गरे पनि म त झन् यहीँ आउन पर्यो नि ।’ उनले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले आफ्नो गरिमालाई कायम राख्नपर्ने बताए । पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, ‘न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँकतैबाट आँच आउन दिन हुँदैन । अहिले डिबेड चलिरहेको छ । एकदुई दिनमा निष्कर्षमा पुग्छ भन्ने मलाई लाग्छ ।’

अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गर्दै भने, ‘हिजोमात्र तीन वटा गठबन्धनबीच छलफल भयो, त्यस्तौ कुनै समस्या छैन ।’ उनले यतिबेला आफूलाई केही तनाव नभएको बताए । उनले भने, ‘जति तनाव त पहिला थियो, अहिले त के तनाव छ र गठबन्धनको सरकार बनेको छ । पूर्णता पाएको छ । विकासमा लम्केको छ । अहिले के तनाव हुनु ?’

अध्यक्ष प्रचण्डले फरक प्रसङ्गमा आफूले कुनै निराशाजनक अभिव्यक्ति नदिएको बताउँदै रुपान्तरणको लागि संकल्प गरेको बताए । उनले भने, ‘मन्त्रीको राजीनामा पछि न्यायालयको विषय उठेको हो, यस विषयमा गठबन्धनले एउटा धारणा बनाउँछ ।’