Swornakshar Logo

५२ वर्षपछि आफन्तको सम्पर्कमा आए बेनीका गंगाबहादुर

म्याग्दी । सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ। २०२३ सालमा घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गंगाबहादुर गुरुङ (जंगबहादुर भनिने)को मंगलबारमात्रै आफन्तसँग भेट भएको हो।

२००३ सालमा जन्मिएका गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुगेको खबर त्यतिबेला परिवारले पाएका थिए। त्यसपछि पनि उनी परिवारको सम्पर्कमा आएनन्। हालैमात्र स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्वीर राखेका र उनले बागलुङ, बेनी, तातोपानीको नाम लिएको जानकारी गराएका थिए। आफ्नो पुर्ख्यौली थलो बेनी भएको र आफू त्यहाँ फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो।

रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो। खोजीका क्रममा थामडाँडाबाट वर्षौँदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उनका आफन्तबीच टेलिफोनमा संवाद गराइएको थियो। आफन्तले झण्डै ६० वटा प्रश्नमार्फत आफन्तको नाम, तत्कालीन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उनले दिएका जवाफले उनको यकिन गरेका थिए।

कैलालीमा स्थानीय प्रतिष्ठित एक व्यक्तिको सहारामा बसोबास गर्दै आएका गुरुङ थामडाँडाका बलवीर गुरुङका हराएका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उनका भाइका परिवारसँग मंगलबार पुनः मिलन भएको छ। गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विसु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलाली पुगेर आफ्ना माइला बुबालाई उद्धार गरी ल्याएका हुन्।

रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनञ्जयकुमार श्रेष्ठसहित रेडक्रसकर्मीको उपस्थितिमा गुरुङको पारिवारिक पुनःमिलन गराइएको थियो। ‘५० वर्षभन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ,’ रेडक्रस म्याग्दीका सभापति हमालले भने।

साउन अन्तिम साता पूर्णानन्द पाण्डेले सामाजिक सञ्जालमा राखेको सन्देशका आधारमा खोजी गर्दै जाँदा असोज तेस्रो साता पारिवारिक पुनःमिलन भएको रेडक्रसले जनाएको छ। विभिन्न कारणले हराएका व्यक्तिको खोजी गर्ने काम रेडक्रसले गर्दै आए पनि विरलै यस्तो प्रकारको पुनःमिलन सम्भव हुने गरेको रेडक्रस म्याग्दीका शाखा अधिकृत श्रेष्ठले बताए।

घरबाट हराएपछि भौँतारिएका गुरुङ तत्कालीन समयमा अत्तरियादेखि डडेल्धुराको महेन्द्र राजमार्गमा काम गर्दागर्दै ठेकेदारले पारिश्रमिक नदिएपछि पैदलै हिँडेर कैलालीको मस्यगाउँमा पुगेको गुरुङले बताए। त्यहाँ पुगेपछि स्थानीयवासीसँग घुलमिल हुँदै स्थानीय एक जमिनदारको घरमा आश्रय लिएर जीविकोपार्जन गर्दै आएका उनले माछा मार्ने पेशा अँगालेका थिए। उनलाई लिन पुगेका आफन्तलाई गाउँलेहरुले भव्य सम्मानसहित बिदाइ गरेका थिए।