Swornakshar Logo

३८ क्वीन्टल सुन तस्करी मुद्दा : मोरङ जिल्ला अदालतले दियो गाेरेसहित सबैलाई सफाइ

काठमाडौं । जिल्ला अदालत मोरङले ३८ क्वीन्टल सुन तस्करी प्रकरणका ७७ जना अभियुक्तलाई सफाइ दिएको छ । न्यायाधीश भरत लम्सालको इजलासले सुन तस्करी मुद्दामा पक्राउ परेका ७७ जनालाई नै सफाइ दिएका हुन् । अदालतका श्रेष्तेदार टीकेन्द्रवीरजंग राणाले समाचारदैनिकसँग भने,‘सुन तस्करी मुद्दाको अभियोगबारे प्रमाणले पुष्टि हुन नसक्ने भएकाले सबैलाई सफाइ हुने फैसला भएको छ ।’ यस्तै अदालतले फरार रहेका २१ जनाको मुद्दा भने मुल्तबीमा राखेको छ ।

व्यक्ति हत्या मुद्दामा ८ जनालाई कैद

जिल्ला अदालत मोरङले भने मोरङका शनम शाक्य हत्या प्रकरणमा ६ जनालाई जन्म कैद र दुई जलाई सामान्य कैदको मात्रै सजाय तोकेको छ । जिल्ला अदालत गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने र अन्य दुई जनालाई कैद सजाय हुने फैसला भएको श्रेस्तेदार राणाले जानकारी दिए । श्रेस्तेदार राणाका अनुसार जन्म कैद पाउनेमा गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी छन्। भने राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ। गोरेलाई भने शरीर बन्धक तथा अपहरण मुद्दामा पनि कैद हुने फैसला भएको छ । यसबारे भने एक महिनाभित्रमा सजाय निर्धारण हुनेछ । यस फैसलाको पूर्णपाठ भने दसैंपछि मात्रै आउने राणाले जानकारी दिए ।

५१२ मध्ये ७७ जना फेला परे

सर्वाधिक चर्चामा रहेको ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको मुद्दामा सरकारी वकिलको कार्यालय मोरङले ७७ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो । जसमध्ये २१ जना फरार रहेकाले ५६ जनाको मात्रै फैसला भएको हो । सुन तस्करी प्रकरणबारे सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरप्रसाद पौडेलको नेतृत्वमा अनुसन्धान टोली बनाएको थियो । सो समितिले चुडामणि उप्रेती ‘गोरे’लाई मुख्य अभियुक्त बनाएको थियो । तर यस घटनामा मन्त्रीदेखि शक्तिशाली नेता हुँदै प्रहरीका विशिष्ट कर्मचारीसम्मको संलग्नता रहेको भनिएको थियो । सुन तस्करी प्रकरणमा पाँच सय १२ व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने सुझाब सरकारलाई दिएको थियो । तर, १६ साउन ०७५ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएको थियो । तीन वर्षअघि नै ७७ जनालाई अभियुक्त बनाएकामा अहिलेसम्म थप अनुसन्धान हुन सकेको छैन ।