Swornakshar Logo

एमाले विधान महाधिवेशन : गाँस, बास र उपचारको यस्तो छ व्यवस्था

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ । विधान महाधिवेशन एमालेले पहिलो पटक गदैछ । यो भन्दा पहिला महाधिवेशन गरेर राजनीतिक ,सांगठनिक र विधान पास गर्ने र त्यसपछि नेतृत्व चयन गदै आएको थियो । तर यो पटक भने एमालेले असोजमा विधान महाधिवेशन र मंसिरमा नेतृत्व चयनको लागि महाधिवेशन गर्ने छ ।

पहिलो पटक आयोजना गरेको महाधिवेशनको नाम ‘विधान महाधिवेशन’ दिएको छ । यस महाधिवेशनमा राजनीतिक,सांगठनिक र विधानका माथि बहस छलफल हुने एमालेले जनाएको छ ।

विधान महाधिवेशनको तयारी एमालेले सकेको कार्यलय सचिव शेरबहादुर तामाङले बताए । तामाङले भने ‘विधान महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशन नयाँ खालको हो । हरेक महाधिवेशनमा नेतृत्वको बढी चर्चा हुने निति ,विधि ,राजनीति ,सांगठनिक र विधानका बारेमा कर्म चर्चा हुने भएकाले हामीले विधान महाधिवेशन गरेका हौ ।’
स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन कमिटी छ । व्यवस्थापन समितिमा कृष्णगोपाल श्रेष्ठ, पासाङ शेर्पा, खिमलाल भट्टराई, सुशीला नेपाल, विनोद श्रेष्ठ, सुजिता शाक्य सदस्य र शेरबहादुर तामाङ रहेका छन् । तामाङ व्यवस्थापन समितिका सचिव हुन ।

एमालेको विधान महाविधेशनमा ५ हजार भन्दाबढी प्रतिनिधि,प्रवेक्षक सहभागी हुने तामाङले बताए । उनले भने ‘जिल्ला,निर्वाच क्षेत्र, केन्द्रीय कमिटी, विभाग, निकाय सबै कमिटी मिलाएर पाँच हजार भन्दा बढी सहभागी हुन्छौं ।’

एमालेको विधान महाधिवेशनमा सिङगो केन्द्रीय कमिटी , केन्द्रीय विभाग, केन्द्रीय निकाय, विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी पदाधिकारी, निर्वाचन क्षेत्रको प्रतिनिधि, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू र केन्द्रले मनोनीत गर्ने १० प्रतिशत सहभागी हुने तामाङले बताए ।

भदौ ९ गते एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा(एकीकृत समाजवादी) बनेको छ । एमाले विभाजन पछि पहिलो पटक राष्ट्रिय स्तरको कार्यक्रम हुदैछ । यो एमाले विभाजन भएपनि भावनात्मक रुपमा पनि एक छौ भन्ने सन्देश पनि जाने एक नेता बताउँछन् ।

पाँच हजारभन्दा बढी प्रतिनिधि सहभागी

विधान महाधिवेशनमा पाँच हजारभन्दा बढी संख्यामा प्रतिनिधिहरु सहभागी हुने तामाङले जानकारी दिए । सम्पूर्ण प्रतिनिधि पर्यवेक्षकहरु र स्वयंसेवकहरुलाई बस्नको लागि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा व्यवस्था गरीएको छ ।

हलमा सबै नअटाएपनि बाहिर पनि व्यवस्था गरेको छ तामाङले बताए । एमालेले प्रतिनिधि पनि संघीयता, समावेशीका आधारमा प्रतिनिधि छनौट गरेको छ । सामावेशीका आधारमा महिला दलित,जनजातिको सहभागीता रहने एमालेले जनाएको छ । एमाले अहिलेसम्म भूगोल र जनसंगठन र पेशागत आधारमा बढी चलेको थियो ।
सबै तर्फबाट महाधिवेशनमा ५ हजार भन्दा बढी सहभागी हुनेछन् ।

दुई हजार भन्दाबढी हलबाहिर बस्ने

विधान महाधिवेशन हुने हलमा तीन हजार जतिलाई बस्ने व्यवस्था भएको छ । जसमा करिब तीन हजार कुर्सी लगाइएको छ । तर प्रतिनिधिहरु र पर्यवेक्षकहरु पाँच हजार भन्दा बढी हुने भएकाले दुई हजार भन्दा बढीलाई बाहिर कुर्सीको व्यवस्था गरेको एमालेले जनाएको छ । जुन हलको दायाँबायाँ व्यवस्था गरेको छ ।

हरेक दिन ११ बजेबाट कार्यक्रम सुरु हुने

विधान महाधिवेशनमा देशभरी र प्रवासबाट सहभागी हुने प्रतिनिधिहरुलाई ११ बजे कार्यक्रम उद्घाटन हुने र त्यसपछिका कार्यक्रमहरु पनि ठिक ११ बजेबाट सुरु हुने जानकारी दिएको छ । कार्यक्रम सहि समयमा सुरु गर्नको लागि सहभागीहरुलाई बिहान ९ बजेदेखि ११ बजेसम्म खाना खाने समय छुट्याएको तामाङले जानकारी दिए । उनले भने ‘समयमा नै कार्यक्रम सक्नु पर्ने हुन्छ । त्यसको लागि समयमा नै सुरु गरेर जानु पर्छ । खान खाने समय बिहानी ९ बजेबाट ११ बजेसम्म छुट्याएका छौ । त्यसको लागि समयमा नै कार्यक्रम स्थलमा पुग्नु पर्छ भनेर सबैलाई भनेका छौ ।’

विधान महाधिवेशनमा सहभागी हुनेहरुले बिहानको खाना र दिउसोको नास्ता कार्यक्रम स्थलमा नै खाने छन् । तर रातीको खाना र बस्ने व्यवस्था सम्बन्धित प्रदेश कमिटीको जिम्मामा दिएको छ । प्रतिनिधि र पर्यवेक्षककाको राती बस्ने र खानाको व्यवस्थापन सम्बन्धित प्रदेश कमिटीले गर्ने एमालेले जनाएको छ ।

तीनवटा प्रतिवेदन, पाँच हजारको छलफल

विधान महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । यी तीनवटै प्रस्तावमा छलफल गर्न पाँच हजार भन्दा बढी प्रतिनिधिले भाग लिने छन् ।

यी तीनवटै प्रस्ताव एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी हुदै विधान महाविधेशनमा पुगेका छन् । दुबै कमिटीमा तीनवटै प्रस्तावमाथि छलफल भएको छ । तीन वटै प्रस्तावमाथि विभिन्न पक्ष विपक्षमा बहस भएको छ । जुन अब पाँच हजार भन्दा बढी प्रतिनिधिबीच हुने छ ।

स्थायी र केन्द्रीय कमिटीमा ओलीको नेतृत्वमा सरकार हुदा दुई पटक प्रतिनिधि सभा विघटन हुनुको कारण बारे प्रष्ट गरी राजनीतिक प्रस्तावमा नआएको भन्दै आलोचना भएको छ । के कति कारणले संसद दुई पटक विघटन गर्नु पर्यो प्रष्ट नआएको र पार्टीसंग कुनै छलफल नै नगरी मनमर्जि तरिकाले पार्टी र सरकार चलाएको भने आलोचना सुरु भएको छ ।
एमालेबाट नेपाल पक्षले अलग पार्टी बनाएपनि नेपाललाई अन्तिम समया साथ नदिनेहरुको एक समुह अहिले एमालेमा नै फर्केको छ ।

तर त्यो समुह अब सानो छ । तर पनि ओलीको राजनीतिक प्रस्तावको आलोचना गर्नेमा यहि समुह देखिएको छ । यो समुहका केहि प्रतिनिधिहरु देशभरीबाट आउने छन् । जसले तीनवटै प्रस्तावमा आलोचना गर्ने देखिन्छ ।

स्वास्थ्य मापदण्ड अपनाउने

विधान महाधिवेशनमा स्वास्थ्य मापदण्ड अपनाइने छ । विश्वमहामारीका रुपमा फैलिएको कोभिड केहि कम भएपनि अन्त्य भएको छैन । त्यहि भएर एमालेले प्रतिनिधि र प्रवेक्षकहरुलाई स्वास्थ्य मापदण्ड अनिवार्य गरेको तामाङले बताए । उनले भने ‘अहिले मास्क र सेनेटाइजर अनिर्वाय गरेका छौ । सबैसंग हुन्छ नभएकालाई पार्टीले कार्यक्रम स्थलमा व्यवस्था गरेको छ । स्वास्थ्य जाँच गर्ने व्यवस्था पनि मिलाइएका छौं जसमा ज्वरो अनिर्वाय रुपमा चेक गर्ने व्यवस्थाछ ।’

बहुमत प्रतिनिधि र प्रवेक्षले खोप लगाएको अनुमान एमालेले गरेको छ । स्थानीय तहमा एमालेको सरकार छन् । जसमा खोपको व्यवस्था गरेको थियो त्यहाँ एमालेका जनप्रतिनिधिहरुले घरघरमा गएर आफ्ना कार्यकर्ताहरुलाई खोप वितरण गरेको भन्दै आलोचना भएको थियो ।

सातदोबाटोबाट बसको व्यवस्था

विधान महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुलाई कार्यक्रमस्थलसम्म जान र फर्किन सहज होस भनेर सातदोबाटोबाट बसको व्यवस्था गरेको छ । ललितपुरको सातदोबाटोदेखि कार्यक्रम स्थलसम्म पुग्न सहज होस भनेर बसको व्यवस्था गरिएको तामाङले बताए ।

उनले भने ‘प्रतिनिधिहरु सातदोबाटोसम्म आफ्नो तरिकाले व्यवस्था गरेर जानु हुन्छ । त्यहाँबाट असहज नहोस भनेर पार्टीले कार्यक्रम स्थलसम्म पुग्न बसको व्यवस्था गरेको छ ।’

डिजिटल बोर्डमा लाइभ अझै अनिश्चित

पहिलोपटक आयोजना गर्न लागेको विधान महाधिवेशनलाई प्रविधि मैत्रि बनाउने भनेपनि डिजिटल बोर्डबाट काठमाडौं र ललितपुरमा लाइभ गर्न भने त्यति सम्भव नहुने एमालेले बताएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा डिजिटल बोर्ड राख्ने भनिएपनि त्यसबारेमा आफुलाई जानकारी नभएको विशाल भट्टराईले बताए ।