Swornakshar Logo

तेस्रो धारकाले बैठकमा राखे १० बुँदे कार्यन्वयनको माग , यो कुरा बैठकको एजेण्डा नबन्ने ओलीको जवाफ

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा तेस्रो धारका नेताहरुले १० बुँदे कार्यन्वयन नभएको भन्दै असन्तुष्टि पोखेका छन् । शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा तेस्रो धारका नेता तथा उपाध्यक्ष भीम रावलले असन्तुष्टि पोखेका छन् ।

बैठकमा उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्य झपट रावल र भानुभक्त जोशीले १० बुँदे सुदुरपश्चि पार्टी कमिटीमा लागु नभएको भन्दै कुरा उठाएका थिए । तीनै जना नेताहरुले (अन्तर पार्टी निर्देशन) अपानी कार्यान्वयन नभएको भन्दै त्यसबारेमा स्पष्ट व्यवस्था हुनु पर्ने कुरा राखेको केन्द्रीय सदस्य निरज आचार्यले बताए । आचार्यले भने ‘बैठकमा उपाध्यक्ष र जोशी कमरेडले अपानी र १० बुँदे कार्यन्वयनमा समस्या देखिएकाले मिलाउनु पर्ने कुरा राखेका हुन् । तर बाहिर आएजस्तो केहि भएको होइन । सौहार्दपूर्ण रुपमा बैठक जारी छ ।’

एमालेमा एकता गर्ने भन्दै असार २७ गते कार्यदलले १० बुँदे प्रस्ताव अघि ल्याएको थियो। जसमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनु पर्ने भन्ने थियो । तर उक्त प्रस्ताव सुदूरपश्चिम प्रदेश कमिटीमा लागु नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएको बताइएको छ । यो १० बुँदे बागमती र प्रदेश १ मा पनि लागु नभएको भन्दै तेस्रो धारका नेताहरु पार्टी कमिटी र बाहिर असन्तुष्टि पोख्दै आएका छन् ।

आजको बैठकमा अध्यक्ष केपी ओलीले तेस्रो धारका नेताहरू अझ रावल र जोशीले बैठकमा राखेको माग ठाडै अस्वीकार गरेका एक केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यले ओलीको भनाइ भन्दै भने ‘यो बैठक विधान महाधिवेशनको लागि राजनीतिक प्रस्ताव,विधान र सांगठनिक प्रस्तावका बारेमा छलफल गर्ने हो । यसमा केन्द्रित रहेर मात्रै छलफल हुन्छ । तपाईहरुका माग स्थायी कमिटीमा छलफल हुन्छन् । यहाँ होइनन् ।’
बैठकमा राखेका माग प्रति ओलीले सिधै एजेण्डा नबन्ने भनेपछि तेस्रो धारका नेताहरु बिलखबन्दमा परेको बताइन्छ ।

एमाले जेठ २ मा फर्केको खण्डमा भीम रावल सुदूरपश्चिमको इञ्चार्ज हुनुपर्ने हुन्छ तर ओलीले माओवादी छोडेर एमालेबै बसेका लेखराज भट्टलाई नै इञ्चार्जका रूपमा काम गर्न निर्देशन दिएका छन् । यता बागमती प्रदेशमा रामबहादुर थापालाई इन्चार्ज बनाएपछि अष्टलक्ष्मी शाक्य रुष्ट बनेकि छिन् । यस्तै प्रदेश १ मा भीम आचार्यले इञ्चार्जको भूमिका निर्वाह गर्न पाएका छैनन् । शाक्य र आचार्य ओलीको निर्देशनमा बागमती र १ नं. प्रदेशमा मुख्यमन्त्री बनेका छन् ।

जब कि ओलीले जेठ र १० बुँदे माधवकुमार नेपाल एमालेमा आउने भएमात्र हुबहु लागु गर्न सकिने तर अरुहरुको लागि नसकिने जवाफ सार्वजनिक रुपमा नै दिदै आएका छन् ।