Swornakshar Logo

गठबन्धनका दलबीच मिल्यो मन्त्रालयको भागबण्डा

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबण्डा टुंगो लगाएका छन्। बुधबार बसेको गठबन्धनको बैठकले मन्त्रालय भागबण्डा टुंगो लगाएका छन्
मंगलबार भएको शीर्ष नेताबीचको छलफलमा लगभग मन्त्रालयको भागबन्डाको विषयमा सहमति जुटेको र त्यसबारे शीर्ष नेताहरूलाई ब्रिफिङ गरिएको एक नेताले जानकारी दिए।
नेपाली कांग्रेसले ७ मन्त्रालय पाउने भएको छ। माओवादी केन्द्रले ६ मन्त्रालय र १ राज्य मन्त्री पाउनेछ। नेकपा (एकीकृत समाजवादी)ले ५ मन्त्री र १ राज्य मन्त्री, जनता समाजवादी पार्टी (जसपा) ले ४ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति भएको स्रोतले बताए ।

सहमतिलाई शीर्ष नेताहरुको बैठकले अन्तिम रूप दिने र भोलि नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ।

यता माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि बिहीबार मन्त्रिमण्डल विस्तार हुने बताएका छन्। बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सरकारलाई पूर्णता दिनेबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरेका थिए।

जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधि सभामा पेस भएको अध्यादेश फिर्ता नभई सरकारमा सहभागी नहुने अडान लिएको छ।

त्यसैले प्रतिनिधि सभामा पेस भएको अध्यादेशलाई प्रतिस्थापना विधेयक ल्याइने तयारी छ। महराका अनुसार भोलि राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक ल्याइनेछ।

‘भोलि बस्ने संसद् बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई अर्को विधेयकबाट प्रतिस्थापन गराउने तयारी छ,’ महराले पत्रकारसँग भने।

अध्यादेश प्रतिस्थापन गराएपछि जसपाले मन्त्री बनाउनेहरूको नाम दिनेछ।

संवैधानिक प्रावधानअनुसार २५ जनाभन्दा बढी मन्त्री बनाउन पाइने छैन। सोही आधारमा दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाइएको हो।

मन्त्रालयको भागबन्डा गर्दा सबै दलको समान हैसियत कायम राख्ने समझदारी बनेको छ।