Swornakshar Logo

माओवादी केन्द्रले निर्वाचनबाट नै वडादेखि केन्द्रसम्म नेतृत्व चयन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन प्रक्रियाद्धारा वडादेखि केन्द्रसम्मकै नेतृत्व चयन गर्ने भएको छ ।
माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । राष्ट्रिय सम्मेलन भन्दा पहिला पार्टीका वडा कमिटी, गाउँ–नगर, जिल्ला, प्रदेश, संघीय निर्वाचन क्षेत्र र केन्द्रीय कमिटीसम्मको नेतृत्व निर्वाचनबाट चुन्ने भएको छ ।

अब वडादेखि केन्द्रसम्म निर्वाचनमार्फत नेतृत्व चयन हुने बताइएको छ । पुसमा हुने राष्ट्रिय सम्मेलनअघि नै तल्ला कमिटीको सम्मेलन सक्ने छन् । राष्ट्रिय सम्मेलन सम्म सबै तत्ला कमिटीमा नेतृत्व चयन हुने छन् ।

माओवादीको निर्वाचन कार्यविधिमा पार्टी केन्द्रीयय अध्यक्ष र केन्द्रीय पदाधिकारी पनि निर्वाचनबाटै आउनु पर्ने उल्लेख छ।

सोमबार भएको केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता वर्षमान पुनले सबै तहको नेतृत्व चयन निर्वाचनबाट हुने बताएका छन् ।

बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए। माओवादी केन्द्रले निर्वाचन आयोगका अध्यक्ष र पदाधिकारी भरखर नियुक्त गरेको छ ।