Swornakshar Logo

एमालेमा सबै पदाधिकारी निर्वाचित हुने, उपाध्यक्ष ३ जना मात्रै राख्ने प्रस्ताव

काठमाडौं । नेकपा (एमाले)ले महाधिवेशनबाट सबै पदाधिकारी निर्वाचित गर्ने भएको छ। नवौं महाधिवेशनमा पनि एमालेले सबै पदाधिकारी हलबाट नै निर्वाचित गरेको थियो । तर एमालेमा विवाद भएपछि ओलीले एकलौटी रुपमा अध्यक्ष बाहेकका पदाधिकारी केन्द्रीय कमिटीबाट मनोनयन गर्ने प्रस्ताव ल्याएको थियो । उक्त प्रस्ताव ल्याउदा एमाले विभाजन भएको थिएन तर केपी ओली र माधवकुमार नेपाल पक्षबीच विवाद चरममा थियो ।

आइतबारबाट सुरु भएको एमाले स्थायी कमिटी बैठक का निर्णय सुनाउदै प्रचार विभाग प्रमुख योगेश भट्टराईले तत्काल एमालेको नवौ महाधिवेशनको विधान अनुसार नै पदाधिकारी चयन हुने र उपाध्यक्ष तीन जना राख्ने प्रस्ताव आएको बताए ।

उनले भने, ‘नवौं महाधिवेशनको निरन्तरता छ । संघीयता अनुसार विधानमा व्यवस्था भएको छ । अहिले सबै पदाधिकारी हलबाट निर्वाचित हुने भन्ने प्रस्ताव छ। त्यसलाई हामीले कायम राखेका छौं।’

उनले उपाध्यक्ष तीन जना मात्रै राख्ने व्यवस्था नयाँ प्रतिवेदनमा गरिएको बताए । यसअघि ७ जना उपाध्यक्षको व्यवस्था थियो ।

दुई दिन चलेको बैठकले विधान महाधिवेशनमा पेश गर्ने तीन प्रतिवदेनमा स्थायी कमिटी सदस्यहरुले लिखित र मौखिक धारणा राखेका थिए ।