Swornakshar Logo

एमालेलाई धक्का, दुई सांसद्लाई एकीकृत समाजवादी रोज्न दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई एकीकृत समाजवादी रोज्न पाउने गरी अन्तरिम आदेश दिएको छ ।

आज सर्वोच्चमा एमाले सांसदद्वय पाण्डे रभट्टले दायर गरेको रिटमा अन्तरिम आदेश दिने वा नदिने भन्नबारे सुनुवाइ भएको थियो । यसअघि सर्वोच्चकी न्यायाधीश मीरा खड्काको एकल इजलासले गत २७ भदौमा अल्पकालीन अन्तरिममार्फत कुनै पनि कारबाही प्रक्रिया अगाडि नबढाउन र निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको थियो ।

मंगलबार भने सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासबाट सुनुवाइ हुनेगरी पेसी तोकिएको छ । निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसदद्वय पाण्डे र भट्ट सर्वोच्च पुगेका थिए।