Swornakshar Logo

ओली–नेपालको आधा सताब्दी लामो सम्बन्धः युवा हुँदा चर्को दोस्ती, बूढ्यौलीमा भयो डिभोर्स !

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र नवगठित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सम्वन्ध युवा अवस्थाबाट सुरु भएर बुढ्यौली उमेरमा विच्छेद भएको छ । ओली र नेपालबीच०२९ सालमा पहिलो भेट भएको थियो । २ भदौ ०७८ सालसम्म आइपुग्दा उनीहरूको सम्बन्धमा अपत्यारिला दरार आयो । मिलनबाट हुर्किएको जीवन र विवादसँगै आधा सताब्दी लामो राजनीतिक सहयात्रामा डिभोर्स भयो ।
२०२८ सालमा झापाली युवाहरुले वर्ग शत्रु सफाय गर्ने अभियान संचालन गरे । त्यहिँ अभियानमा जोडिएका थिए ओली । त्यतिबेला नेपाल राष्ट्रबैंकको कर्मचारी भए पनि कम्युनिस्ट समर्थक थिए । दुवैको युवा अवस्थामा हुँदा दुवै जनाको विचार मिल्यो र सँगसँगैको सहयात्रा सुरु भयो । त्यस समयमा कम्युनिस्ट भूमिगत थिए । अझ झापालीहरुले त वर्ग शत्रु सफाया अभियान चलाइरहेका भएकाले सत्ताको निसानामा पर्थे । झापाका ओली रौतहट आएर नेपालको घरमा नै बसेको एमाले स्थापनाकालमा पुराना नेता राधाकृष्ण मैनाली बताउँछन् ।

मैनाली भन्छन्,‘उहाँहरुको भेट २०२९ साल तिर रौतहटमा भएको थियो । पछि एउटै पार्टीमा पनि जोडियौ । ०३० सालमा ओली रौतहटबाट नै गिरफ्तार भएँ ।’

लामो सम्बन्धमा ओली र नेपालबीच कहिले अगाध प्रेमपूर्ण त कहिले अति तिक्ततायुक्त सम्बन्ध रहेको मैनाली बताउँछन् ।
नेपाल र ओलीबीच बहुआयामिक सम्बन्ध थियो । राजनीतिक र सैद्धान्तिक विषयसँगै व्यक्तिगत मामलामा पनि उनीहरुबीचको सम्बन्ध एउटै बहावमा रहेको देखिँदैन । एमाले बनेपछि नेपालले लामो समय पार्टीको नेतृत्व गरे, तर ओलीले नेतृत्व गरेको एमाले माओवादीसँग एकता गर्न पुग्यो । निर्वाचनमा झन्डै दुई तिहाइ मत ल्यायो । नेकपा विभाजनको मात्र होइन एमाले विभाजनको पनि प्रमुख पात्र ओली बने । उनी अहिले विभाजित एमालेको अध्यक्ष बन्न पुगे ।

नेपालले पाउँदा ओलीलाई ‘साइड लगाउने’ र ओलीले पाउँदा नेपाललाई ‘किनारा लगाउन खोज्ने’ प्रवृत्ति देखिएको थियो । पछिल्लो समय दुई नेताबीचको तिक्तता ‘जुँगाको लडाइँ’सुरु भएर पार्टी विभाजनको तहसम्म पुग्यो ।

पाँचौं र छैटौं महाधिवेशनमा दुवैको एउटै लाइन

तत्कालीन एमालेको पाँचौं महाधिवेशनमा ओली र नेपाल एउटै लाइनमा उभिएका थिए । जतिबेला मदन भण्डारी पार्टीको महासचिव हुँदै थिए । पाँचौ महाधिवेशनबाट महासचिव बनेका भण्डारीको साथमा थिए– ओली र नेपाल । पाँचौ महाधिवेशनबाट एमालेले ‘जनताको बहुदलीय जनवाद’नामक कार्यनीति बनायो ।
०५४ सालमा पार्टीको छैटौं महाधिवेशन भयो । नेपालगन्जमा सम्पन्न महाधिवेशनमा पनि दुवै एउटै समूहमा थिए । जतिबेला सीपी मैनाली र वामदेव गौतम फरक समूहमा थिए । फरक समूहका धेरै समर्थकलाई किनारा लगाउन उनीहरु सफल भए । महाधिवेशनबाट नेपाल महासचिव चुनिए । ओली उनका सहयोगी बने । गौतमले एमाले विभाजन गरे । अहिलेका दोस्रो तहका नेताहरु गौतमको समूहमा लागे । ०५६ को मध्यावधि निर्वाचनमा देशभर खाता खोल्न नसकेपछि गौतम पुनः एमालेमा प्रवेश गरे । तर सिपी मैनाली अहिलेपनि माले पार्टी चलाएर बसेका छन् ।

सातौं महाधिवेशनमा आमनेसामने

०५९ सालको सातौं महाधिवेशनमा ओली–नेपाल आमनेसामने भए । जनकपुरमा भएको महाधिवेशनमा ओलीले अध्यक्षलगायत बहुपदीय प्रणालीको प्रस्ताव गरे ।जसलाई नेपाललगायत नेताले अस्वीकार गरे । त्यसपछि नेपालसँग ओली नराम्ररी बिच्किए ।नेपाल महासचिवमा दोहरिए । नेपालकाविरुद्ध अभिव्यक्ति दिनु नै त्यो समयमा ओलीको काम भएको नेताहरु बताउँछन् ।
अधिवेशनमा ओलीले आफू नेपालका कारण पीडित हुनुपरेको गुनासो गरेका थिए । यसरी दुई नेताबीच टकराव उत्पन्न हुनुको पृष्ठभूमि पद बाँडफाँट नै थियो । ०५६ सालमा नेपाल पार्टी महासचिव भएकै बेला ओलीले संसदीय दलको नेता दाबी गरेका थिए । नेपालले दिएनन् । आफैं संसदीय दलको नेता भए । त्यहीँबाट ओली नेपालसँग खास चिढिएका थिए ।

नेपाल नेतृत्वमा हुदा ओली सधै प्रतिपक्ष

संसदीय दलको नेता दाबी गर्ने बेलासम्म पार्टीमा ओली समूह सशक्त भइसकेको थियो । त्यसपछि क्रमशः ओली पार्टीभित्रको प्रतिपक्षजस्तो हुँदै गए । नवौ महाधिवेशनबाट नेतृत्वमा आउनुपूर्वसम्म ओलीलाई पार्टीको प्रतिपक्षीकै रुपमा हेरिन्थ्यो । धेरैले भन्थे, ‘ओली पार्टीका स्थायी प्रतिपक्षी हुन् ।’
‘त्यति बेलासम्म दुवै नेताहरुको सम्बन्ध सुमधुर थियो,’ ओलीनिकट मानिने नेकपाका केन्द्रीय सदस्य खिमलाल भट्टराई भन्छन्, ‘महासचिव बनाउन ओलीले सघाएपछि नेपालले संसदीय दलको नेता हुने लोभ गर्नु हुँदैनथ्यो । सम्बन्ध बिग्रँदैनथ्यो ।’
भट्टराईका अनुसार सातौं महाधिवेशनमा ओलीले नेपाललाई सहमतिमै नेतृत्व दिनका लागि बहुपदीय प्रणालीको प्रस्ताव फिर्ता लिएका हुन् ।

‘यति मात्र होइन, ओलीले अध्यक्ष प्रणाली प्रस्ताव गरेर स्थगित गरेका थिए । यो भनेको नेपाललाई सर्वसम्मत नेतृत्व दिन राजी भएका हुन्,’ उनले भने ।

महाकाली सन्धिमा सँगैसँगै

सबैभन्दा विवादितसमेत रहेको बहुचर्चित महाकाली सन्धिका बेला ओली–नेपाल सँगसँगै थिए । अर्थात् उनीहरु मिलेर नै सन्धि भएको थियो । राधाकृष्ण मैनालीले ‘नलेखिएको इतिहास’मा लेखेका छन्,‘माधव नेपाल सुरुदेखि नै केपी ओलीलाई आफ्नो पक्षमा पार्नतिर लागे । महाकाली सन्धिकै विषयमा कुरा गर्न भारतबाट मन्त्रीस्तरीय टोली नेपाल आएका बेला नेपालले ओलीलाई च्यापेका थिए । चलाख केपी आफूलाई शुभलाभ हुने बुझेपछि राष्ट्रहीतका झमेलामा अल्झिएनन् ।’

संसद्मा सांसदलाई महाकाली सन्धिको पक्षमा वकालत गर्न दुवै नेताले ह्वीप जारी गरेका थिए ।‘ओली र नेपाल मिलेरै महाकाली सन्धि भएको हो,’ तत्कालीन सांसद हिरण्यलाल श्रेष्ठ भन्छन् ।

त्यतिबेला श्रेष्ठ, पद्यमरत्न तुलाधर र मोहनचन्द्र अधिकारीले नेताको ह्वीप नमानेर महाकाली सन्धिविरुद्ध प्रस्तुत भएका थिए । नेपाल–ओलीले भने महाकाली सन्धि नेपालको हितमा भएको तर्क गरेका छन् । उनीहरु अहिले पनि यो मुद्दामा सहमत छन् ।
महाकाली सन्धिकै कारण एमाले फुट्यो । २०५४ सालमा सम्पन्न छैटौं महाधिवेशनपछि सन्धिलाई कारण देखाउँदै सीपी मैनाली र वामदेव गौतम मिलेर पार्टी फुटाए । नेकपा माले गठन गरे ।

व्यक्तिगत स्वभावमा व्यापक अन्तर

ओली र नेपालका व्यक्तिगत स्वभाव फरक–फरक छन् । आफूले उठाएका मुद्दा जबर्जस्त लाद्न ओली माहिर छन् । कडा स्वभावका ओलीमा वाकपटुता छ । उनी चलाख र बहिर्मुखी छन् ।नेपालको स्वभाव अन्तर्मुखी छ । उनी प्राविधिक र सांगठानिक हिसाबमा अब्बल मानिन्छन् ।
समन्वयकारी क्षमताका नेपाललाई तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको जस छ । उनले विद्रोही माओवादीका नेतासँग भारतको सिलगुढी र लखनउ पुगेर वार्ता गरेका थिए । नेपालले नै नेताद्वय वामदेव गौतम र युवराज ज्ञवालीलाई माओवासीसँग वार्ताका लागि रोल्पा पठाएका थिए ।

राजनीतिक मुद्दा र ‘लाभ–हानि’

राजनीतिक मुद्दा सँगसँगै ‘लाभ–हानि’को हिसाब गरेरै उनीहरुले आजसम्म सम्बन्धलाई अघि बढाएको देखिन्छ । महाकाली सन्धि, तत्कालीन विद्रोही माओवादीलाई हेर्ने दृष्टिकोण, जबज, विदेश नीतिलगायत मुद्दामा ओली–नेपाल एक थिए, छन् ।
त्यस्तै, तत्कालीन समयमा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन ओलीले सहयोग गरेका थिए । एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल भन्छन्, ‘केपी ओलीले समर्थन नगरेको भए माधवकुमार नेपाल प्रधानमन्त्री बन्न सम्भव थिएन ।’
नेपाल नेतृत्वको सरकारविरुद्ध माओवादीले आन्दोलन छेडेका बेला ओलीले ‘डिफेन्स’ गरेका थिए।
नेपालले पनि ओलीका लागि राजनीतिक जोखिम मोलेका छन् । अर्थात्, नेपालले ओलीलाई सहयोग गरेका छन् । २०६२÷०६३ सालको जनआन्दोलनपछि १५ वैशाखमा तत्कालीन एमालेको स्थायी समिति बैठक बसेको थियो । उक्त बैठकमा स्थायी समितिका धेरै नेताले सरकारमा जाने रहर गरेका थिए ।

रहर गर्नेमा ओली, झलनाथ खनाल, ईश्वर पोखरेल, अमृत बोहोरालगायत थिए । त्यतिबेला नेपालले ओलीको नाम प्रस्ताव गरे । ओलीको नेतृत्वमा एमाले सरकारमा गयो । दोस्रोपटक प्रधानमन्त्री बन्ने बेला पनि ओलीलाई नेपालले सहयोग गरेका थिए । जब ओलीले पहिलो पटक प्रधानमन्त्री बनेको नौ महिनापछि कसैको भनेको मानेनन् अनि सरकारबाट हट्नु परेको थियो ।

तिक्तता ८औं महाधिवेशनबाटचरमचुलीमा

नेपालले एमालेको १५ वर्ष नेतृत्व गरे । झलनाथ खनालले पनि केही समय नेतृत्व सम्हाले ।
खनालले पनि कहिले ओलीलाई त कहिले नेपाललाई साथ दिए । आठौं महाधिवेशनबाट खनाल अध्यक्ष बने। ओली खनालसँग पराजित भए । बुटवलमा भएको महाविधेशनमा नेपालले ओलीलाई साथ दिएको बताइन्छ । तर नेपालले सहयोग नगरेको ओलीको आरोप थियो । नेपाल निकट एक नेता भन्छन्, ‘नेपालले ओलीलाई नै सहयोग गरेको हो । तर, ओलीले पत्याएनन् ।’
ओली लाइनबाट विद्यादेवी भण्डारीलाई राष्ट्रपति प्रस्ताव गर्ने विषयमा पनि नेपालले साथ दिएका थिए । नवौं महाधिवेशनबाट अध्यक्ष हुने बेला खनाललाई ओलीले राष्ट्रपति बनाउने आश्वासन दिएका थिए । उक्त आश्वासनकै कारण खनालले ओलीलाई सहयोग गरेका थिए ।

ओलीसँग भिडेका नेपालले पराजय बेहोरे । खनालकै कारण हार्नुपरेको नेपालको बुझाइ छ । त्यसैले पनि नेपालले खनाललाई राष्ट्रपति बनाउन सहयोग गरेनन् । जसको कारण भण्डारी राष्ट्रपति बनिन् ।

नवौं महाधिवेशनपछिको द्वन्द्व

२०७१ साल असारमा एमालेको नवौं महाधिवेशनमा ओली–नेपाल फेरि आमनेसामने भए । १५ वर्ष पार्टी हाँकेका नेपाल नवौं महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्न आइपुगे । त्यसपछि नेपाल–ओलीबीचको द्वन्द्व साम्य भएन । महाधिवेशनमा अध्यक्ष ओलीले जितेपनि पदाधिकारीमा नेपाल पक्षकाले जितेका थिए । तर ओलीले २०७५ जेठ २ सम्म नेपाललाई वाइपास गरेर पार्टी चलाएको आरोप नेपाल पक्षले लगाउँदै आएको थियो ।
कुनै कालखण्डमा मिले पनि मूलभूत रूपमा दुई नेताबीचको दूरी झन् झन् बढ्दो छ । माओवादीसँग पार्टी एकता गर्ने कुरामा दुई नेताबीच मन मिले पनि भागबन्डाको किचलो कायमै थियो ।

अध्यादेशको विरोध

०७७ सालमा नेकपाको सरकार थियो । प्रधानमन्त्री थिए ओली । यीनै ओलीले कोरोना महामारीकोबीचमा दल विभाजनसम्बन्धि अध्यादेश ल्याए । त्यसको विरोध नेकपा भित्रबाटै भयो । विरोधको अग्रमोर्चामा थिए प्रचण्ड र नेपाल ।
अध्यादेश ५ दिनमा फिर्ता लिन बाध्य भएका ओलीको त्यसपछि प्रचण्ड र नेपालसँग सम्बन्धन सुधार भएन ।
१७वैशाखको नेकपाको सचिवालय बैठकमा ओलीले राजीनामा दिनुपर्ने माग उठ्यो । अन्तः गौतमले धोका दिएपछि ओलीकाको पद जोगियो ।
असारमा स्थायी कमिटीमा पनि ओलीले राजीनामा दिनु पर्ने माग बहुमत सदस्यले मागे । बैठकमा नै नआएर ओलीले बैठक भाँडे । भदौमा विवाद मिलाउने भनियो । तर कार्यदलले दिएको सुझाव ओलीले मानेन् । ओलीले ५ पुसमा संसद् विघटन गरे । ११ फागुनमा संसद पुनस्र्थापना भयो । २३ फागुनमा सर्वोच्च अदालतले नेकपा विभाजन हुने फैसला ग¥यो । तर यो विभाजनको मुख्य नाइके ओली भएको आरोप नेकपाका नेताहरुले लगाएका थिए ।

एमाले ब्यँुतिएपछि कहिल्यै मिलेनन्

२३ फागुन २०७७ सालमा सर्वोच्च अदालतले नेकपा विभाजन गराएर एमाले र माओवादी ब्युँतायो । एमाले ब्युँतिएपछि ओलीले २८ फागुनमा आफू पक्ष र पूर्वमाओवादीसहितको बैठक बोलाएर पार्टीको निर्णय गराए ।

चैतमा त एमालेको नवौ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाएर दशौं महाधिवेशन आयोजक कमिटी बनाए । नेपाल पक्षले पनि चैतको ४–५ गते ललितपुरमा राष्ट्रिय भेला गरे । देशभर समानान्तर कमिटी बनाए ।

ओलीले नेपाललाई समेट्नुको सट्टा परपर धकेल्न थाले । ओलील नेपाल जेठमा फेरि आमुन्नेसामुन्ने भए । ६ गते बागमती प्रदेशमा राष्ट्रिसभाको निर्वाचन भयो। निर्वाचनमा ओलीले रामबहादुर थापालाई उम्मेदवार बनाए भने नेपालले गठबन्धनसंग मिलेर खिमलाल देवकोटालाई उम्मेदवार बनाए । देवकोटाले नै जिते । उक्त जित हारलाई ओली नेपालको जितहारसँग दाँजियो ।

ओली पक्षले थापालाई भोट नदिने प्रदेश सासदलाई स्पष्टीकरण सोध्यो ।प्रदेशमात्र होइन स्पष्टीकरण सोध्ने र कारवाहि गर्ने काम ओलीले नेपाललगायत उनको पक्षमा लागेका उपाध्यक्ष भिम रावलदेखि उपमहासचिव घनश्याम भुसालसम्म गरे ।
मनलाग्दा कारबाहि गर्ने मननलाग्दा कारबाहि फकाउने गरेका ओलीले आफु अनुकुल नहुनेलाई कारवाहिको डण्डा १ भदौसम्म चलाए ।
अन्त भदौ २ गते ओली नेपालबीच ४९ बर्षको सहयात्रा सकिएको छ । नेपालले नेतृत्व गरेको नेकपा एमाले समाजवादी पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।