Swornakshar Logo

एमाले विवाद: कार्यदलको बैठक दिन दिनै प्रगति शुन्य वार्ता

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक बिना निस्कर्ष टुङ्गीएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार दुई पटक बसेको बैठकबाट कुनै निस्कर्ष निकाल्न सकेन ।

बैठक पछि पनि एमालेका दुई पक्षले दुई थरी कुरा गरेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यदलका संयोजक सुवास नेम्वाङले भोलिको बैठकबाट निस्कर्ष निकाल्ने बताए । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्य घनश्याम भुसालले भने १० दिन देखि कुनै प्रगति नभएको बताए ।

नेम्वाङले भने ‘भोली साढे ११ बजे बस्ने बैठकलबाट टुंगोमा पुर्याउने छौ । हामी आशावादी छौ , भोली टुङगोमा पुग्ने छौ ।’
घनश्याम भुषालले भने ‘हामी जहाँको त्यही छौ । आजको बैठकमा एक ढंगले कुरा गर्ने तयारी थियो । तर विष्णु पौडेल आउनुभएन । अनि विषयमा प्रवेश गर्न पाइएन ।’

यसैबीच माधव नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमानदार नदेखिएको आरोप लगाएका छन् । नेपाल पक्षका कार्यदलका एक सदस्यले भने ‘उहाँहरुमा पार्टी एकताप्रति कुनै रुची देखिएन, यसो उसो गरेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न र पाँच दलीय गठबन्धनमा अविश्वास सिर्जना गर्न खोजेजस्तो मात्रै देखियो ।’

ओली पक्षले कार्यदलमा कुनै एजेन्डा नै प्रस्तुत गर्न नसकेको नेपाल पक्षका नेताहरुको आरोप छ । आज गृहकार्य गरेर साँझ ७ बजे बैठक गर्ने भनिए पनि ओली पक्षले सहमतिको कुनै प्रस्ताव नल्याएको र विष्णु पौडेल वार्ताबाटै भागेको नेपाल पक्षका नेताले बताए ।