Swornakshar Logo

प्रधानमन्त्री ओलीसहित राजनीतिक नेताहरू भोलि चिनियाँ राष्ट्रपतिसंगको भर्चुअल बैठकमा सहभागी हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङपिङले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पुगेको अवसरमा भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग भर्चुअल छलफल गर्ने भएका छन् ।

मंगलबार अपरान्ह हुने छलफलमा प्रधानमन्त्री ओली सहभागि हुने संचार विज्ञ रामशरण बजगाईले जानकारी दिए । उनले भने ‘मंगलबार चिनियाँ राष्ट्रपतिसंग हुने जुम मार्फत हुने भर्चुअल छलफलमा प्रधानमन्त्री ज्यु सहभागि हुने निश्चित भएको छ ।’

प्रधानमन्त्री ओलीसहित उक्त भर्चुअल छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु पनि सहभागि हुने बताइएको छ ।

चिनियाँ राष्ट्रपति जिङपिङले जुम बैठकमा भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरुलाई पनि निम्तो दिएका छन् । सबै नेताहरुलाई बोल्न पाँच मिनेटको समय दिइएको जनाइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पुगेको अवसरमा चीनले पछिल्लो समय छिमेकी तथा मित्रराष्ट्र मुलुकका नेता तथा सरकार प्रमुखसँग छलफल गरिरहेको छ ।