Swornakshar Logo

भ्याकेटमा जाने ओलीको निर्णयले एकता भङ्ग गर्न खोजेको प्रस्ट भयोः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले कर्णाली प्रदेशका सांसदको पुनर्बहालीविरुद्ध भ्याकेटमा जाने निर्णयबाट पार्टी एकता भङ्ग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट भएको बताएका छन् ।

उनले भनेका छन् ‘कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।’

उनले जिम्मेवार भएर पार्टी एकता बचाउन आफूहरू लचक भएर प्रस्तुत हुँदा ओलीले त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखिएको पनि बताएका छन् ।

ओलीले हिजो मात्रै कर्णाली प्रदेशसभाका चार जना सांसदको पुनर्बहालीविरुद्ध भ्याकेट दर्ता गराएका हुन् ।

नेपालले अगाडि भनेका छन् ‘स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो ।’

ओली सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध लागेको आरोप पनि लगाएका छन् । नेपालले वार्ता गर्ने आफ्ना पक्षका नेताहरूलाई सावधान हुन पनि आग्रह गरेका छन् ।

उनले भनेका छन् ‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ । असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकता विरोधी तत्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।’