Swornakshar Logo

पहिरोले मर्स्याङ्दी नदी थुनियो, मनाङ सदरमुकाम चामे जोखिममा

मनाङ । मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ मा पहिरो खस्दा मस्र्याङदी नदि थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा मनाङ सदरमुकाम चामेबजार क्षेत्र जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

मनाङ अहिलेपनि बर्षा भइरहेको बताइएको छ।

उनले भने, ‘चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मर्स्याङ्दी नदी थुनिएको छ, नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ ।’ चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो लामिछानेले बताए ।

माथिबाट झरेको पहिरो ढुङ्गामाटो र काठदाउराले मर्स्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ । उनले भने ‘ थुनिएको भागबाट मर्स्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ । यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ । सिङ्गो चामेबजार जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिजसमेत कटान गरेको छ । नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ ।’

प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ । उनले नेपाली सेनामार्फत बम विस्फोट गराई मर्स्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताए ।

सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उनले बताए । लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताए । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उनले जानकारी दिए ।