Swornakshar Logo

योगेश र गोकर्णले भने भाग्ने होइन , संघर्षबाट पार्टी कब्जा गर्ने हो

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले आफूहरुले एमालेलाई एकता प्रक्रियामा गएर पार्टी कब्जा गर्ने बताए । उनले एकता भनेको आत्मसमर्पण नभई रुपान्तरका लागि हो । यदि ओली रुपान्तरण नभएमा त्यहि संघर्ष गरेर पार्टी कब्जा गर्नु पर्ने धारणा राखेका छन् ।

हिजो देखि सुरु भएको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा उक्त कुरा बताएका हुन । भट्टराईले पार्टी एकता भनेको आत्मसमर्पण नभएर संघर्ष पनि भएको बताए।

योशगे भट्टराईको भनाइ भन्दै एक केन्द्रीय सदस्यले भने ‘अहिले पनि संघर्ष नै प्रधान हो, हामीले तलसम्म संगठन निर्माण गर्दै जाने हो र यो विषयलाई अझै तल्लो तहमा लैजाने हो । केपी ओलीसँगको एकता प्रयास व्यक्तिगत होइन, संघर्ष हो। केपी ओलीसँग हाम्रो लडाई संघर्ष, रुपान्तरण र एकता नै हो।’

आफुहरुले गरेको एकताको प्रयास केपी ओलीको स्वेच्छाचारिता र निरंकुशतालाई स्वीकार गर्नका लागि नभएको बताए । उनले भने, ओलीको स्वेच्छाचारिता र निरंकुशताका विरुद्ध ‘ संघर्ष गर्न हो । संघर्ष ,रुपान्तरण नै एकताको आधार हो।’ उनले एकताको प्रयत्न अन्तिमसम्म जारी राख्नु पर्ने र त्यसबाट पार नलागे संघर्षमा अघि बढ्नेमा कुनै द्विविधा नरहेको प्रष्ट पारे।

आज बोलेका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले भर्चुअल बैठकमा आफू आफ्नो पक्षभन्दा बाहिर नगएको समेत बताए। केपी शर्मा ओली पक्षसँग औपचारिक तथा अनौपचारिक संवादमा संलग्न हुँदा आफ्नै पक्षभित्रबाट शंका अविश्वास पैदा भएको गुनासो गरेका छन् ।

विष्टको भनाइ भन्दै एक केन्द्रीय सदस्यले भने ‘एकता नहुन दिन ओलीका मानिसरु अविश्वास पैदा गर्ने खेल्नेमा उद्यत छन्, अर्कोतिर हामीभित्रै पनि समस्या पैदा गर्ने कोशिश किन भइरहेको छ ? बुझ्न सकेको छैन ।’

उनले केपी ओली प्रवृतिबारे आफू भलिभाँती जानकार रहेको, नझुक्किएको बताए । उनले भने ‘यो पाँच वर्षयता हर्लक्क हुर्केको प्रवृत्ति होइन। २० महिना ओलीको क्याबिनेटमा मन्त्री हुँदा पनि लगातार जुधिरहें। क्याबिनेटमा प्रमसँग जुध्ने कुरा कति गाह्रो हुन्छ, पूर्वप्रमहरुलाई थाहा होला। आफ्ना मान्यतामा उभिँदाउभिँदै म बाहिरिएको छु। त्यसकारण हामी को कति क्रान्तिकारी भन्ने समयले बताउला। अहिले नै आशंका नगरौ ।’

बैठकमा उनले भने, एकता मुद्दामा हो, विचारमा हो, विलीन हुने होइन। हामी ओलीको षडयन्त्र र स्वेच्छाचारिताबारे सचेत छौं।

आफूहरुले अन्तिमसम्म एकताको गर्ने तर हुदै भएन भने नयाँ पार्टी गठनमा अघि बढ्नुपर्ने बताए। नयाँ पार्टी जनजीविका, जनता र राष्ट्रको पक्षमा बनाउनु पर्नेमा जोड दिए ।

विष्टको भनाइ भन्दै ती सदस्यले भने, ‘केपी ओली प्रवृत्तिलाई एक्स्पोज गर्न पनि हामीले अन्तिमसम्म वार्ताको प्रयत्न गर्नुपर्छ, माधव र झलनाथले एमालेलाई एक राख्न अन्तिसम्म पहल गरे भनेर कार्यकर्तालाई भन्न दिनुपर्छ। हाम्रा शर्तहरुमा एकता गर्न सक्यौं भने पार्टी हामीले हाँक्ने सम्भावना छ । एकता गरेर नै पार्टी कब्जा गर्ने हो नकि त्यसबाट पछाडि हटेर ।’

भट्टराईलगायत एमालेका चार जना नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा छन्। भट्टराईले र विष्टलाई पार्टीको एकताको लागि गरिएका इमान्दार प्रयत्नबारे गलत टिप्पणी भइरहेको भन्दै गुनासो पोखेका छन् ।