Swornakshar Logo

एमाले विवादःसुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्यो

काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली पक्षले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एमालेका तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
पार्टी केन्द्रको निर्णयअनुसार सरकारबाट फिर्ता नभएको भन्दै उनीहरुलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेको छ । ओली पक्षका नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलको हस्ताक्षर भएको स्पष्टिकरण पत्र तीनै जनालाई पठाएको छ ।

सोमबार ओली पक्षको स्थायी कमिटी बैठकले सुदुरपश्चिम प्रदेश सरकारमा सहभागी भएका एमालेका तीन जना मन्त्रीलाई राजीनामा दिन र प्रदेश सरकारलाइ दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर बुधबार एमालेको सुदुपश्चिम प्रदेश सभाको संसदीय दलको बैठकले सरकारबाट फिर्ता नहुने निर्णगरेको छ । उक्त निर्णय पछि सुदुरपश्चिममा एमालेमा विवाद बढेको छ ।

सुदूरपश्चिममा पार्टी केन्द्रको निर्णय उल्लंघन गर्ने काम भएकोले उनीहरुलाई आजै २४ घण्टे स्पष्टिकरण सोधिएको अध्यक्ष कर्णबहादुर थापाले बताए । उनले भने ‘पार्टीको निर्णय नमान्नेहरुको चित्तबुझ्दो जवाफ आएन भने साधारण सदस्य समेत नरहने गरी कारवाही हुन्छ ।’

सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वको सरकारमा एमालेका प्रकाश बहादुर शाह आन्तरिक मामिला तथा कानुन, कृष्णराज सुवेदी सामाजिक विकास र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । शाह, सुवेदी र भट्ट तीनैजना खनाल–नेपाल समूहका हुन् ।