Swornakshar Logo

ओली पक्षको निर्देशन नमान्ने एमाले सुदूरपश्चिम संसदीय दलको निर्णय, सरकारबाट फिर्ता नहुने

काठमाडौं । सुदुरपश्चिम प्रदेश नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । नेकपा एमाले प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

आज भएको संसदीय दलको बैठकले कोभिड महामारीका बेला तत्‍काल वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको एमाले सांसद अमर साउँदले बताए । साउदका अनुसार बैठकले भविष्यमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन अन्य दलहरूसँग छलफल अघि बढाउने निर्णयसमेत गरेको छ ।

सोमबार ओली पक्षको एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसपछि एमालेका तीन जना मन्त्रीलाई सरकारबाट राजीनामा दिन २४ घण्टे निर्देशन जारी भएको थियो । ५२ सदस्यीय प्रदेशसभामा एमालेका २५ जना प्रदेशसभा सदस्य छ्न् । जसमा माधव कुमार नेपाल पक्षमा १८ जना रहेका छन् । एक जना सभामुख र ६ जना केपी शर्मा ओली पक्षका छन् ।