Swornakshar Logo

संसद् विघटन विरुद्ध सर्वोच्चमा २३ रिट, सोमबार दर्ता गरेर मंगलबार पेसी तोक्ने तयारी

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद् विघटन विरुद्ध सर्वोच्च अदालतमा २३ वटा रिट पुगेका छन् । शुक्रबार राती भएको संसद विघटन विरुद्ध अधिवक्ताहरू सन्तोष भण्डारी, सुजन नेपाललगायत ११ जनाले संयुक्तरूपमा रिट लिएर सर्वोच्च पुगेका थिए ।

त्यस्तै अधिवक्ताहरू केशरजंग केसी, लोकेन्द्र ओली लगायतले पनि संयुक्तरूपमा रिट लिएर पुगेका छन्। रिट दर्ताको समय दिउँसो ३ बजेसम्म मात्रै भएकाले अहिलेसम्म २३ वटा रिट दर्ताका लागि आएको सर्वोच्च प्रशासनले जनाएको छ ।

रिट निवेदकले ल्याएका फाइलहरूलाई क्वारेन्टाइनमा राखिएको छ । रिट दर्ताका लागि आएका फाइलहरूलाई एउटा बाकसमा राखिएको र रिट लिएर आउनेलाई टोकन जस्तै नम्बर दिएको छ । सोही नम्बरका आधारमा रिट अध्ययन गरेर दर्ताका लागि योग्य भए÷नभएको थाहा हुनेछ अदाल स्रोतले बताए।

रिट निवेदकले संविधानको धारा ७६(३) अनुसार नियुक्त प्रधानमन्त्रीले राजीनामा वा संसद्मा विश्वासको मतको सामना नगरी संसद् विघटन गर्नु असंवैधानिक भएको दाबी गरेका छन् । प्रधानमन्त्रीले राजीनामा नदिइ अवैधानिक रूपमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान गरेको पनि रिटमा उल्लेख छ ।

उनीहरूले नयाँ सरकार गठनका लागि महामारीका बेला छोटो समय दिएको र बहुमत सांसदको हस्ताक्षरसहित बुझाउँदा पनि नमिल्ने भनेर सुनियोजित रूपमा संसद् विघटन गरेको दाबी गरेका छन् ।

उनीहरूले संविधानको धारा ७६(३) को प्रधानमन्त्रीले राजीनामा वा संसदबाट अविश्वास मत नपाई सिधै संविधानको सोही धाराको उपधारा ५ अनुसार संसद् विघटन गरेको प्रक्रिया नमिलेकाले अन्तरिम आदेश मार्फत रोक्न रिट लिएर पुगेका हुन् ।

सोमबारसम्म सांसदहरूको रिट आए पनि नआए पनि दर्ता प्रक्रिया अगाडि बढाउने सर्वोच्च प्रशासनले जनाएको छ ।

१३ रिट फिर्ता लगे

गत शुक्रबार संविधानको धारा ७६(३) अनुसार नियुक्त प्रधानमन्त्रीले राजीनामा नदिइ वा सोही धाराको उपधारा ४ अनुसार विश्वासको मत नलिँदै नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चमा १३ वटा रिट पुगेका थिए । सोही दिन रिटमा रित नपु¥याएको भन्दै सर्वोच्च प्रशासनले ३ रिट फिर्ता पठाएको थियोे भने १० रिट दर्ताका लागि योग्य भएको बताएको थियोे । तर शुक्रबार राति नै संसद् विघटन भएपछि ती रिटको सन्दर्भ सकिएको भन्दै केही बाहेक अधिकांश निवेदकले रिट फिर्ता लगेका छन् ।