Swornakshar Logo

कांग्रेस माओवादी ओलीविरुद्ध अविस्वास प्रस्ताव ल्याउन जसपाको निर्णय कुर्दै

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे जनता समाजवादी पार्टी (जसपाको निर्णय पर्खेको छ । कांग्रेस र माओवादी केन्द्रले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी गरेका छन् तर जसपा भने नयाँ सरकार निमार्णकोलागि निर्णायक भएकाले उसको भर पर्नु पर्ने अवस्था छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्न उनीहरूले संसदको चौंथो ठूलो दल जनता समाजवादी पार्टीको साथ चाहिन्छ ।

प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजान बारे जसपाका शीर्ष नेताहरूको बैठक अहिले जारी छ। बैठकमा जसपाका नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्।

ओली बिरुद्ध अविश्वासको प्रस्तावको पक्षमा जाने कि नजाने भन्ने बारे जसपा दुई पक्ष छन् । पछिल्लो पटक छलफल भएपनि कुनै निर्णय हुन सकेको छैन ।

जसपा नेताहरू ठाकुर र महतोले लामो समयसम्म प्रधानमन्त्री ओलीसँग मिलेर सत्ता गठबन्धन बनाउने भन्दा भट्टराई र यादवलगायतका नेताहरू कुनै पनि हालतमा ओलीसँग मिल्न नहुने अडान राख्दै आएका छन् ।

आजको बैठकले कांग्रेस–माओवादीसँग मिलेर अघि बढ्ने निर्णय गर्न सकने संभावना रहेको एक नेताले बताए । ती नेताले भने ‘एक दुई दिनमा बहुमतका आधारमा भए पनि निर्णय हुन्छ। जुन सबैले मान्नै पर्छ ।’

जसपाले निर्णय गरे बुधबार नै प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी कांग्रेस–माओवादी केन्द्रले गरेको स्रोतले बताए ।

दुइ दलबीच लामो छलफलपछि ओली बिरुद्ध अविश्वासको प्रस्ताव लैजाने निष्कर्ष निकालेका हुन्। दुबै पार्टीले अविश्वासको प्रस्ताव अघि बढाउन आफ्ना सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेको कांग्रेसका एक नेताले बताए । आज बिहान पनि कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला र प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको छ ।