Swornakshar Logo

हेटौंडामा १२ गतेबाट सवारीमा जोर बिजोर प्रणाली

हेटौंडा । मकवानपुरको हेटौंडामा आज १२ गतेबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागु भएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी साधान सबैमा जोर बिजोर प्रणाली लागु भएको हो ।

हेटौंडामा सञ्चालन हुने सम्पूर्ण सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आजबाट हेटौंडामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागु गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

हेटौंडामा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेसँगै सङ्क्रमण बढ्न नदिन उक्त निर्णय लिइएको पाण्डेले बताए । पाण्डेका अनुसार आइतबारदेखि मकवानपुरभरिका पर्यटकीय क्षेत्र, पार्क तथा वनभोजस्थलसमेत बन्द गरेका छन्।

यस्तै सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने भएको छ । कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

हेटौंडामा प्रहरीले कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । पछिल्ला दिनमा मकवानपुरमा कोरोना सङ्क्रमण बढेपछि जिल्ला प्रहरी कार्यालयले सङ्क्रमणको जोखिमलाई मध्यजनर गर्दै सडकमा सर्वसाधारणलाई सचेत गराउने कार्यक्रम गर्दै आएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नै हेटौंडाका विभिन्न सडकमा नागरिकलाई भैतिक दूरी कायम गर्न र मास्कको प्रयोग गर्न चोक–चोकमा सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।

बढ्दै गएको सङ्क्रमणबाट बच्न र बचाउन सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मकवानपुरका प्रहरीले चोक–चोकमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, अत्यावश्यक काम परेमा मात्र घर बाहिर निस्कन सचेतनामूलक कार्यक्रम आयोजना गरेका हुन् ।