Swornakshar Logo

ओलीले बोलाएको सर्वदलीय बैठक प्रचण्डद्धारा बहिस्कार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहिस्कार गरेका छन् । प्रधानमन्त्री ओलीले सर्वदलीय बैठककाबारेमा केहि पनि जानकारी नगराएकाले उपस्थित हुन आवश्यक नरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले शुक्रबार बिहान दाहाललाई फोन गरेर भेट्न आग्रह गरेका थिए ।

‘प्रचण्ड कमरेड बिहान कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटनमा हुनुहुन्थ्यो, त्यतिबेला फोन गर्नुभएको थियो । फोनमा उहाँले तपाईं, म शेरबहादुर देउवाजी बालुवाटारमा बसौँ, कुराकानी गरौँ भन्नुभएको थियो,” स्रोतले भन्यो, “प्रचण्डले बालुवाटारमा होइन भेट्ने हो भने सिंहदरबार तय गरौँ भनेपछि कुराकानी टुङ्गिएको थियो । पछि सर्वदलीय बैठक भनेर हल्ला भयो । यसबारे प्रचण्डसँग कुनै कुरा भएको छैन ।’

सर्वदलीय बैठक भनेर खबर नगरिएकाले प्रचण्ड सहभागी हुन अनुपयुक्त रहेको निष्कर्षमा पुगेको उनी निकटले बताए।

एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई पनि बैठकबारे जानकारी नगराएको उनले बताए । ‘आजको बैठकको विषयमा केही पनि थाहा छैन । खबर छैन । बोलाएको भए पनि त्यो नाटकमात्रै हो । त्यसले कुनै निकास दिनेवाला छैन,’ खनालले बताए ।

यता, माधवकुमार नेपाललाई पनि बैठकबारे ओलीले जानकारी नै गराएका छैनन् । ‘एक त माधवकुमार नेपाल ओलीले बोलाएको बैठकमा जानुहुन्न । अर्को, उहाँलाई त ओलीले निलम्बन गर्नुभएको छ क्यारे, किन खबर गर्नु ?” नेपालनिकट स्रोतको भनाइ छ ।

महन्थ ठाकुरले आजको सर्वदलीय बैठकमा अमेरिकी सहायता परियोजनाअन्तर्गतको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे छलफल हुने बताएका छन् ।