Swornakshar Logo

एमालेको खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठक जारी,नयाँ अभियान सुरु गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको आज स्थायी कमिटी बैठक बसेको छ । अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा एमाले चलाउन खोजेपछि खनाल–नेपाल पक्षले यहि ४–५ गतेबाट राष्ट्रिय भेला गरेर अलग्गै कार्यक्रम गदै आएका छन् । खनाल –नेपाल पक्षले युवा संघ,विद्यार्थी र महिलामा समानान्तर कमिटी बनाएका छन् ।
ओलीले नेपाल, उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । निलम्बन गरिएपछिको रणनीति बनाउन स्थायी कमिटी सदस्यहरुको बैठक बसीरहेको छ ।

देशब्यापी पार्टी पुनर्गठनको अभियान चलिरहेको र आज स्थायी कमिटीको बैठकले थप घोषणा गर्ने एक स्थायी कमिटी सदस्यले बताए ।

ओली पक्षले भने एकलौटी रुपमा एमालेको स्थायी कमिटी , पोलिटब्युरो र केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक कमिटी बनाएको छ । तर माधव नेपाल पक्षले त्यसलाई विधान विपरित गरेको भन्दै मानेको छैन ।। नेपाल पक्षमा एमाले स्थायी कमिटीका ११ जना सदस्य छन् । अनुशासान आयोगका अध्यष अमृतकुमार बोहरा पनि यहि पक्षसंग रहेका छन् ।

झलनाथ खनाल, माधव नेपाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपानेसहितको बैठक बस्न लागेको हो ।

एक स्थायी कमिटी सदस्यका अनुसार खनाल–नेपाल पक्षका नेताहरु ओलीसंग रहन नसकिने निष्कर्षमा पुगेका छन् ।

एक महिनासम्म सबै जिल्लामा जनवर्गीय संगठनमा समानान्त कमिटी बनाएर आफ्नो पक्षका नेता कार्यकर्ताहरुलाई संगठित गर्ने । त्यसपछि नेपालले एमाले पुनर्गठन गर्ने मनसाय बनाएको बुझिाएको छ । त्यसपछि प्रचण्डसंग मिलेर वृहत कम्युनिस्ट एकताको अभियान चलाउने उनी निकट एक केन्द्रीय सदस्य बताउछन् ।
नेपाल पक्षले विहीवारमात्र माधव नेपालकै उपस्थितिमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ ।

भोजपुर, अर्घाखाँची, गोरखामा पहिले नै पार्टी कमिटी गठन गरीसकेका छन् । शनिवार उदयपुरमा समानान्तर कमिटी घोषणा हुने बताइएको छ ।