Swornakshar Logo

रेशमको मुद्दामा ओली अस्त्रः आफू बलियो हुँदा आतंककारी, संकट पर्दा मुद्दा फिर्ता !

काठमाडौँ । केपी ओलीले सरकार अल्पमत पर्न लागेपछि अहिले जनता समाजवादी पार्टीको साथ खोजिरहेका छन् । जसपामा रहेका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी ओलीको विपक्षमा उभिरहेका बेला सोही पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा जान हतारिएका छन् ।

सरकारमा जानुअघि उनीहरूको एक सुत्रिय माग कैलाली– १ बाट पूर्व राजपाबाट निर्वाचित भएका रेशम चौधरीको मुद्दा फिर्ता गर्नुपर्ने सर्त छ । सत्ता टिकाउनकै लागि टीकापुरको घटनामा चौधरीलाई आतंककारी करार गर्ने ओली अहिले एकाएक मुद्दा फिर्ता गर्न तयार भएका छन् ।
कैलाली टीकापुरमा एक प्रहरी अधिकृत, नाबालकसहित सात जनाको हत्या अभियोगमा जन्मकैद सजायमा जेल जीवन विताइरहेका चौधरीको मुद्दामा तत्कालीन एमालेले मुद्दा फिर्ता लिन नहुने भन्दै ५ जेठ ०७४ मा विज्ञप्ति निकाले विरोध जनायो । त्यतिबेला ओली नेतृत्वको एमालेले टीकापुर हत्याकाण्डका दोषीलाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै विज्ञप्ति नै निकालेर आपत्ति जनाएको थियो ।

२०७४ जेठ ४ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टीकापुर घटनाका संलग्न अभियुक्त रेशमसहित १३ जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । तर, तत्कालीन प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गरेपछि निर्णय कार्यान्वयन हुन सकेन । तत्कालीन एमालेले सरकारको निर्णयविरुद्ध विज्ञप्ती नै जारी गरेको थियो ।

तत्कालीन पार्टी सचिव प्रदीप ज्ञवालीले सार्वजनिक गरेको विज्ञप्ती भनिएको थियो, ‘आपराधिक घटनालाई राजनीतिक आवरण दिएर तिनमा संलग्नलाई उन्मुक्ति दिन लागेका छ ।’ त्यसबेला हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एमाले सचिव थिए ।
टीकापुर घटना हुँदा गृहमन्त्री एमालेकै उपाध्यक्ष वामदेव गौतम थिए । उनले तत्कालीन व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै घटनालाई रक्तपातपूर्ण र योजनाबद्ध भएको ठहर गरेका थिए । घटना घटेकै दिन तत्कालीन एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्री ओलीले ‘कैलाली घटना आतंककारी र अपराधिक’ भएको ठहर गरेका थिए ।

बलियो हुँदा अपराधी, संकट पर्दा अस्त्र ?

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष गत २३ फागुनभन्दा अगाडिसम्म एउटै पार्टीमा थिए । उनीहरू दुवैजना विघटित नेकपाको अध्यक्ष थिए । त्यतिबेला ओलीसँग एकलौटी बहुमत थियो । ओली बहुमतमा हुँदासम्म फरक राजनीतिक विचार राख्ने विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाए भने चौधरीको मुद्दा फिर्ता लिने बारे कहिल्यै चासोसमेत दिएनन् । जब उनी पार्टीभित्रै संकटमा पर्न थाले अनि विप्लव नेतृत्वको नेकपासँग हतार हतार वार्ता गरेर प्रतिबन्ध फुकुवा गरे भने सरकार ढल्ने भएपछि चौधरीको मुद्दा फिर्ता लिने बताइरहेका छन् । तर गत ५ असोज ०७६ मा सुनसरीको झुुम्कामा थारु कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रमा अध्यक्ष प्रचण्डले टीकापुर लगायतका घटनामा लगाईएका झुटा मुुद्धा खारेज गर्ने बारे सैद्धान्तिक सहमती जुटेको बताएका थिए । त्यतिबेला ओली प्रधानमन्त्री थिए ।

यस्तै गत शनिबार प्रज्ञा भवनको डबलीमा वृहत् नागरिक समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जसपाका अध्यक्ष महन्थ ठाकुरले चौधरीले झुटा मुद्दा खेपेर जेलामा रहेको बताएका थिए । उनले भनेका थिए,‘ओलीजीसँग कुनै पनि लिखित सम्झौता गरेका छैनौं । हामीले उहाँहरूलाई नभने आफ्ना पीर मर्का कसलाई भन्ने ? हाम्रो राजनीतिक माग पूरा भएको छैन, हाम्रा नेता, सांसद, मेयर जेलमा छन्, मुद्दा खेपिरहेका छन् ।’ सोही कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले ओलीका गुटका मान्छे जेलमा चौधरीलाई भेट्न गएको बताए । उनले सबैभन्दा अप्ठ्यारो स्थितिमा जेलमै चौधरीलाई भेट्न गएको बताएका थिए । उनले भनेका थिए,‘महन्थजी ममाथि कुनै मुद्दा छैन भन्ठान्नुभएको ? मेरा साथीहरु जेलमा छैनन्? त्यसैले तपाईं पनि पीडित म पनि पीडित, हामी पीडित पीडित मिल्ने हो र जित्ने हो । तपाईं नै प्रधानमन्त्री बन्नुस् न !’