Swornakshar Logo

खनाल–नेपाल पक्षका सांसदहरु संसदीय दलको बैठकमा बालुवाटार जाने, नेपाल–रावल नजाने

काठमाडौं । झलनाथ खनाल –माधव नेपाल पक्षका सांसदहरु संसदीय दलको बैठकमा जाने भएका छन् । झलनाथ खनालको नेतृत्वमा सांसदहरु बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएका हुन् ।

आज खनाल–नेपाल पक्षका केन्द्रीय कमिटीको बैठक बसेर दलको बैठकमा सहभागी हुने निर्णय गरेका हुन । आज बसेको केन्द्रीय कमिटीको बैठकले दलको बैठकमा गएर पार्टीलाई विधि विधान अनुसार संचालन गर्न आफ्ना कुरा राख्ने निर्णय भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । उनले भने ‘आजको संसदीय दलको बैठकमा साथिहरु जानु हुन्छ । आफ्ना कुरा राख्नु हुन्छ । पार्टी र दललाई विधि र विधान अनुसार संचालन गर्नु पर्ने कुरा राख्नु हुन्छ ।’

वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल भने बालुवाटार नजाने भएका छन् । बालुवाटारको बैठकमा सहभागी भएर खनालले बोल्नकालागि समय माग्ने र समय दिएमा आफ्ना कुरा राख्ने । अन्य साथिहरुले नोट अफ डिसेन्ट लेखेर आउने निर्णय भएको बैठकमा पन्तले बताए ।

आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले संसदीय दलको बैठक बोलाएका छन् । संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए ।                             आज बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षलाई पार्टीको बैठक बोलाउन माग गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेल बताए । उनले भने ‘सर्वोच्च अदालतले २०७५ साल २ जेठमा पार्टी पुगाएकाले अब एमाले त्यहिबाट चल्नु पर्छ । यो बिचमा एमालेका नाममा भएका सबै गतिविधिहरु अमान्य हुन्छन् । २८ फागुनमा एक पक्षीय रुपमा गरेको निर्णय पनि खारेज हुनु पर्छ ।’
एमालेमा विवाद बढेपछि संसदीय दलमा खनाल नेपाल पक्ष पहिलो पटक सहभागी हुदै छन् । जब कि यो भन्दा पहिला ओलीले बोलाएका दलको बैठक खनालनेपाल पक्षले बहिस्कार गदै आएको थियो ।