Swornakshar Logo

ओलीको कारबाही सामू झुक्दैनौँ: माधव नेपाल

ललितपुर । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको धम्कीबाट आफूहरू अलिकति पनि नझुक्ने बताएका छन् ।
उनले आफू पक्षीय कार्यकर्ताको राष्ट्रिय सम्मेलनको समापनमा बोल्दै ओलीको तानाशाही प्रवृत्तिलाई धुलो चटाएरै छाड्ने चेतावनी दिए ।

नेता नेपालले ओलीले तयार पारेको कारवाहीको लिस्टको पहिलो नम्बरमा आफू रहे पनि त्यसबाट विचलिन नहुने बताए । नेता नेपालले भने,‘ओलीले सुरुमा केन्द्रीय कमिटिबाट नभइ जनप्रतिनिधिबाट कारबाही गर्छन् । उनको कारबाहीको लिस्टको पहिलो सूचीमा हाम्रो नाम छ । हामी कारबाही भोग्न तयारै छौँ । हामी कम्युनिस्ट आन्दोलनबाट पछि हट्दैनौं । केपी ओलीलाई धुलो चटाएरै छाड्छौं ।’

उनले ओलीले कारबाहीका लागि तयार पारेको खुकुरीका सामू नझुक्ने स्पष्ट पारे । उनले ओलीलाई प्रधानमन्त्रीबाट हटाए पछि पनि वामपन्थीकै नेतृत्वमा सरकार बन्ने जिकिर गरे । यस्तै, नेता नेपालले ओलीले विधि मिचेर पार्टी विरोधी गतिविधि गरेको भन्दै आपत्ति जनाए ।

उनले गत २८ फागुनमा एकलौटी रुपमा पार्टी संरचनामा गरेको परिवर्तनलाई नमान्ने बताए । ति निर्णय नसच्चिएसम्म ओलीसँग कुनै सम्झौता नहुने स्पष्ट पारे । माओवादी केन्द्रका रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय समितिमा मनोनित गर्ने निर्णय नमान्ने बताएका छन् । उनले भने,‘बाटोमा हिँडिरहेकालाई केन्द्रीय समितिमा थप्दैमा मान्य हुँदैन ।’
यस्तै नेता नेपालले ओलीको ल्यावमा डिएनए परीक्षण गर्दा नमिलेकालाई पत्तासाफ गर्ने प्रवृत्तिका कारण पार्टी संकटमा परेको बताए ।