Swornakshar Logo

प्रधानमन्त्रीमा लोभ गदैन, जिम्मेवारी आए भाग्दिनँ: देउवा

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको लोभ नभएको तर प्रस्ताव आए सहज रुपमा हुने बताएका छन् ।

नेपाली काँग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले आफुलाई पदको लोभ नभएपनि काँधमा आएको जिम्मेवारीबाट नभाग्ने बताए । ‘नेपाली काँग्रेसलाई पदको लोभ छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्ने वाला पनि छैन,’ देउवाले भने ।

देउवाले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त’ नगर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे । आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै सभापति देउवाले भने, चिन्ता नलिनुस् रामचन्द्र जी म पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने अरुको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला ।

उनले थपे, तपाई शेरबहादुर जी हुनै हुँदैन भन्ने चाहानुहुन्नजस्तो लाग्छ । मलाई तपाईंको भनाइबाट त्यही बुझियो । पौडेललाई सानो चित्त नगर्न र विशाल हृदय राख्न आग्रह गर्दै उनले , अबको राजनीतिमा जे आउँछ, त्यो बेहोर्दै जानुपर्छ, भने ।

सत्तासीन नेकपाका केपी ओली र प्रचण्ड–माधव नेपाल पक्षले सत्ता सहकार्यका लागि देउवालाई प्रस्ताव गरिरहेका बेला उनले जिम्मेवारी आए पछि नहट्ने बताएका हुन् ।

उनले रानाभाटको राजनीतिक सङ्घर्षको चर्चा गर्दै एक पटक मन्त्री बनाउने आफ्नो चाहाना पूरा नभएको बताए । सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नेपाली काँग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसद्मा छ त्यसैअनुसार अघि बढ्नुपर्ने बताए । उनले भने, विपक्षी दलको सही भूमिका काँग्रेसले निर्वाह गर्नुपर्छ ।

सानो सङ्ख्यामा संसद्मा भए पनि कांग्रेसको भूमिका ठूलो र जिम्मेवारीपूर्ण रहेको उनको भनाइ थियो । काँग्रेसले सजग र इमान्दार भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्नसके अर्कोपटक लोकतन्त्रको रक्षा गर्न सक्ने गरी संसद्मा बलियो पार्टी बन्ने पनि उनले बताए ।

वरिष्ठ नेता पौडेलले स्व. एकनाथ रानाभाटले निष्ठावान रुपमा पार्टीमा समर्पण गरेको भन्दै त्यो समर्पण र त्यागको भावना प्रस्तुत गर्न सक्नुपर्छ भने । ‘आम नेपालीले भरोसा गर्ने ठाउँ भनेको काँग्रेस मात्र रहेको छ’ उनले भने, ‘काँग्रेसले त्यहीअनुसारको आचरण र व्यवहार देखाउनुपर्छ ।’

वरिष्ठ नेता पौडेलले विकृतिबाट लोकतन्त्रलाई बचाउनुपर्ने बताए। उनले भने, ‘वास्तवमा कसैले आफ्नो हैसियत र औकातभन्दा बढी आकांक्षा राख्नु महत्वाकांक्षा हो र यो विकृति हो ।’

लोकतन्त्रमाथि देशी विदेशी षडयन्त्र भइरहेको पनी उनले बताए ।

काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपालको लोकतन्त्र स्थापनामा रानाभाटले पुर्‍ययाएको योगदान सह्रानीय रहेको बताए ।

रानाभाटको यही फागुन १० गते ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । उनी प्रतिनिधिसभाका पूर्वसांसद थिए ।