Swornakshar Logo

राष्ट्रिय दलित पत्रकार संघ मकवानपुर शाखाको अध्यक्षमा शुभलक्ष्मी

हेटौंडा । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल मकवानपुर शाखाको अध्यक्षमा शुभलक्ष्मी विश्वकर्मा चयन भएकी छिन् ।
बुधबबार भएको शाखाको प्रथम जिल्ला भेलाबाट अन्नपूर्ण पोष्टकर्मी विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ ।

उपाध्यक्षमा रूपक कालिराज , सचिवमा शान्ति सुनार , सहसचिव युवराज विश्वकर्मा , कोषाध्यक्षमा पारू परियार , सदस्यहरूमा प्रज्वनी सुनार , सिमा सुनार, विश्व सुनार, प्रशंसा सुनार सर्वसम्मत रूपमा चयन भएका छन्।

शाखको अध्यक्षमा चयन भएकी शुभलक्ष्मी नेपाल पत्रकार महासंघ मकवानपुरकी सहसचिव पनि हुन । राष्ट्रिय दलित पत्रकार संघ मकवानपुर शाखाको अध्यक्षमा शुभलक्ष्मी
संघका बागमती प्रदेश उपाध्यक्ष कमल कुमार विश्वकर्माको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

प्रमुख अतिथि विश्वकर्माले मिडियामा समावेशीकरण हुनुपर्ने बताए । उनले भने ‘ मिडियामा समावेशीकण र दलित समुदायका पत्रकारहरूको भौतिक उपस्थितिको सवालमा यस संघले पहलकदमी गर्नु पर्छ। दलित समुदायका पत्रकारहरूलाई सिकाउने, दक्ष बनाउने र मिडियामा टिकाउने सवालमा काम गर्नु अहिलेको मुख्या आवश्यकता हो।’

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष हरि हुमागाईंले संघले आम श्रमजीवि पत्रकारहरूका लागी महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा अग्रज पत्रकार कृष्णराम परियारले निष्पक्ष पत्रकारिता गर्न सबैमा आग्रह गरे। उनले कुनैपनि विषयको समाचार हतारमा प्रकाशन र प्रसारण नगर्न समेत आग्रह गरेका थिए ।

संघका चितवन जिल्ला अध्यक्ष अमिर रामदामले समावेशीकरण, सामाजिक न्याय, मानवअधिकारको मुद्दाका साथै मकवानपुरको आमउत्पीडित वर्गसमुदायको आवाजलाई शसक्तरुपमा मिडियामा ल्याउन यस मकवानपुर शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताए ।

कार्यक्रममा चितवन जिल्ला सचिव श्याम विश्वकर्माको उपस्थिति रहेको थियो। दुई वर्षे कार्यकालका लागि उक्त समिति चयन भएको छ।