Swornakshar Logo

प्रचण्ड–नेपाल पक्षका सांसदलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न निर्देशन

काठमाडौं । नेकपा प्रचण्ड(माधव पक्षले आफ्ना सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सांसदहरुलाई सो निर्देशन दिएका हुन् ।

बैठकमा अध्यक्षद्वयले प्रतिगामी र प्रतिक्रान्तिकारी विरुद्धको लडाई जारी रहेकोले सतर्क रहन समेत सांसदहरुलाई सचेत गराएका छन् । बैठकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष समेत निकालेको सो पार्टीका केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनारले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेका अधिकाँश सांसदहरु आफ्नो पक्षमा फर्कने बताएका छन् । बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकमा बोल्दै नेता नेपालले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे सांसदहरु समक्ष ब्रिफिङ गरेका थिए ।

उनले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टी विभाजित हुँदा ओलीतर्फ लागेका सांसदहरुमध्ये ठूलो संख्याका सांसदहरु आफूहरुतर्फ आउन चाहेको जानकारी गराए । ‘ओलीतिर लागेका धेरै जना सांसदहरु आउने छन्, उहाँहरुलाई गर्ने मान सम्मानमा कुनै कमी नगर्नुहोस्, उहाँहरुको शरीर उता भए पनि मन यतै छ’, नेपालले भनेका थिए । अध्यक्ष नेपालले उनीहरुप्रति कुनै पूर्वाग्रह नराख्न त्यहाँ उपस्थित सांसदहरुसँग आग्रह गरेका छन् ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहि ढिला पुगेका थिए । उनी पुगेपछि बैठक औपचारिकरुपमै शुरु गरिएको थियो । बैठकमा राष्ट्रिय सभाका सांसदहरु पनि उपस्थित रहेको सांसद दिपकप्रकाश भट्टले जानकारी दिएका छन् ।