Swornakshar Logo

निर्मला पन्तका हत्यारा कानुनको फन्दा नजिक आइसकेका छन्: गृहमन्त्री थापा

फाइल फोटो

विराटनगर । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तका हत्यारा र बलात्कारी कानुनको पञ्जाको नजिक आइसकेको दाबी गरेका छन्। उनले निर्मलाका हत्यारा र बलात्कारीलाई कानुनको कठघरामा उभ्याउने प्रतिबद्धतासमेत व्यक्त गरे।

नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली पक्षले विराटनगरमा आयोजना गरेको सभामा सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, निर्मलाका हत्यारा र बलात्कारी पनि अब हाम्रो कानुनको पञ्जाको नजिक आइसकेको छ। त्यसलाई पनि कानुनको कठघरामा उभ्याउने छौँ।

२०७५ साउन ११ गते कञ्चनपुरकी निर्मलाको शव भिमदत्तनगर नगरपालिकाको उखुबारीमा फेला परेको थियो। बलात्कारपछि पन्तको हत्या भएको अनुसन्धानले देखाएपनि प्रहरीले हालसम्म अपराधीलाई पक्राउ गर्न सकेको छैन ।

सभामा सम्बोधन गर्दै गृहमन्त्री थापाले सबै भ्रष्टाचारी र अपराधीहरूलाई कुनै पनि किसिमको छुट नदिइने सेमत उद्घोष गरे। म सबै अपराधीहरूला सचेत गराउन चाहन्छु। कुनै पनि अपराधीलाई छुट दिइने छैन। भ्रष्टाचारीलाई पनि छुट दिने छैन, थापाले सम्बोधनका क्रममा भने।

उनले सरकारको सफलताबाट आतकिंत भएर नै प्रचण्ड –नेपाल पक्षले वर्तमानको विषम परिस्थिति सिर्जना गरेको आरोपसमेत उनले लगाएका थिए।