Swornakshar Logo

मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्याका आरोपीत विक जेल चलान

मोरङ । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेकपा नेत्रविक्रम चन्द समूहका मोरङ इञ्चार्ज धनबहादुर विक जेल चलान भएका छन् ।

जिल्ला अदालत मोरङले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि मोरङ कारागार चलान गरिएको हो ।

जिल्ला अदालत मोरङकी न्यायाधीश दुर्गा खड्काको इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।

संखुवासभाको मादी नगरपालिका ४ ओखरबोटेका विकलाई बूढीगंगा गाउँपालिका ४ मा माघ ७ गते उद्योगी व्यवसायीलाई धम्क्याउँदै चन्दा असुलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी मोरङले पक्राउ गरेको थियो ।

शिक्षक श्रेष्ठको हत्याको आरोप लागेका विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल, ३ राउन्ड गोली लोड भएको म्याग्जिन, विभिन्न कम्पनीका मोबाइल ४ र सिमकार्ड ५ थान बरामद गरेको थियो ।

प्रहरीले विकले प्रयोग गरेको को २४ प ४००५ नम्बरको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको थियो ।

हातहतियार तथा खरखजाना मुद्दामा थुनछेकको बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश इजलासबाट आएको स्रेस्तेदार दाहालले सुनाए ।

शिक्षक श्रेष्ठको हत्या आरोपमा विकसहित प्रतिबन्धित नेकपा महासचिव चन्दलगायत ४२ जनाविरुद्ध जिल्ला अदादलत मोरङमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

मिक्लाजुङ गाउँपालिका १ स्थित सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको हत्या आरोपमा मुद्दा चलाइएकामध्ये ४१ जना फरार छन् ।