Swornakshar Logo

भागरथी बलात्कार र हत्या प्रकरण: भारत भाग्न लागेको अवस्थामा एक संदिग्ध महेन्द्रनगरबाट पक्राउ

मोबाइलको ब्याट्री’ का कारण थिए शंकाको घेरामा

काठमाडौं । बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई कचंनपुरबाट पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कचंनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको बताइएको छ। यद्यपि अनुसन्धानलाई असर गर्ने भन्दै प्रहरीले उक्त व्यक्तिबारे कुनै जानकारी चुहाएको छैन ।

भागरथीको हत्या भएको दिन ती व्यक्ति पनि घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइएको र भागरथी खोचलेक बजारबाट घरतर्फ लागेलगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको छ ।

‘भागरथी घर जान लागेपछि तत्काल ती व्यक्ति पनि सोही बाटो हुँदै गएको पाइएको छ,’ स्रोतले भन्यो ।

घटनाको अनुुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार भारत भाग्न लागेको आशंकामा उनलाई महेन्द्रनगरबाट पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा घटनाको समयमा उनी घटनास्थल नजिकै पाइएको र घटनामा संलग्न भएको पुुष्टी गर्ने केही आधार भएको प्रहरीको भनाइ छ । स्रोत भन्छ, ‘भेटिएको मोबाइलको ब्याट्रीबारे कुकुरले गरेको संकेतबाट ती व्यक्ति शंकाको घेरामा थिए ।’

यद्यपि घटनामा उनको संलग्नतालाई पुुष्टि गर्न भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट गर्नुपर्ने हुन्छ । पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।

एकजना शंकितलाई पक्राउ गरेकोबारे केन्द्रीय प्रहरीले भने अनभिज्ञता जनाएको छ ।प्रहरी भन्छन् ‘हामी अपराधीको नजिक छौँ । पक्राउ परेको वा नपरेको भन्ने बेला भएको छैन । केही व्यक्तिमाथि क्लोजि मनिटरिङ गरिरहेका छौँ । अहिले धेरै कुरा बोल्ने अवस्था छैन ।’