Swornakshar Logo

लोडसेडिङ मैले हटाएको हो ,अब विजुली बेच्छौंः ओली

काठमाडौं । १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएको समयमा घोषणा गरेरै लोडसेडिङ हटाएको बताएका छन् । सोमबार धनुषामा नेपालकै ठूलो ढल्केबर सबस्टेसनको उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै ओलीले नेपाल अब भारत र बंगलादेशलाई बिजुली बेच्ने हैसियतमा पुगेको भन्दै अहिले झ्याप–झ्याप बत्ती जानु प्राविधिक कुरा भएको बताए ।

उनले भने, ‘२०७२ मा पहिलो पटक प्रधानमन्त्री हुँदा देशमा १८ घण्टा लोडसेडिङ थियो । म प्रधानमन्त्री भएपछि देशबाट घोषणा गरेरै लोडसेडिङ हटाएका हौं ।’ उनले थपे, ‘अब कहिल्यै लोडसेडिङ हुँदैन । कहिलेकाँही बत्ती जाने भनेको प्राविधिक समस्या हो, लोडसेडिङ होइन ।’

२०७५ जेठमै लोडसेडिङ हटाइसकेको भन्दै उनले आवश्यक जति बिजुली दिन आफुहरु तयार भएको बताए । अबको केही वर्षपछि नेपालले विदेशी मुलुकबाट विजुली किन्ने नपर्ने बताए ।
उनले भने, ‘हामी विकासको यस्तो रफ्तारमा अगाडि बढेका छौं, चाँडै नै हामी विदेशीलाई विद्युत बेच्नेछौं ।’ फरक प्रसंगमा प्रधानमन्त्री ओलीले चुनाव निर्धारित समयमा हुने ठोकुवा गरे । उनले चुनावका लागि निर्वाचन आयोग तयारीमा लागिसकेको भन्दै अब चुनाव एक दिन पनि पर नसर्ने बताए ।

ढल्केबर सबस्टेसन उद्घाटन धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो चार सय केभी ढल्केबर सबस्टेसन १३ बिघा जमिनमा फैलिएको छ । नेपाल सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण भएको ४००÷२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । ४००÷२२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् ।

यसैगरी, २२०÷१३२ केभी सबस्टेसनमा रहेका तीन वटा ट्रान्सफर्मरको क्षमता ६३५ एमभीए छ भने अर्को ३१५ एमभीए जडान भइरहेको छ । सबस्टेसन सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको ढल्केबर–मुजफ्फपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत दुई मुलुकबीच करिब एक हजार मेगावाटसम्म विद्युत आदान–प्रदान गर्न सकिने छ । हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब दुईरदुई सय मेगावाट विद्युत् ढल्केबर सबस्टेसनबाट हेटौडा र इनरुवातर्फ पठाउन सकिने छ ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसम्म ल्याई मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाउन सकिने छ । हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न नभएसम्मका लागि अहिले रहेको १३२ कभी प्रसारण लाइनमार्फत करिब तीन सय मेगावाट विद्युत् पूर्व–पश्चिम पठाउन सकिने छ ।

आन्तरिक खपत गरेर बढी भएको विद्युत्लाई सबस्टेसनमार्फत भारत निर्यात गर्न सकिने छ । जिआइएस प्रविधियुक्त स्वचालित अत्याधुनिक सबस्टेसनलाई भविश्यमा थप विस्तार गर्दै जान मिल्ने गरी बनाइएको छ । भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाबाट नेपालले पाउने निःशुल्क ऊर्जा पनि यही ढल्केबर सबस्टेसनमा प्राप्त हुने छ ।

चार सय केभी सबस्टेसन निर्माणका लागि २२ माघ २०७४मा ठेक्का सम्झौता भएको थियो । कहिले तराईको डुवान कहिले शीतलहर त कहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९को कहरले सबस्टेसनको निर्माण प्रभावित भएको थियो । आयोजनाको परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरेको थियो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजना अन्तर्गत २२०र१३२ केभी सबस्टेसनको निर्माण भएको हो । उत्पादित विद्युतको आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरण गरिएको हो ।