Swornakshar Logo

तीन दिनभित्र जवाफ नदिए ओलीलाई पार्टी सदस्यबाट निष्काशन गर्ने तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पूर्व अध्यक्ष केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ नदिए प्रचण्ड नेपाल पक्षले कारवाही गर्ने निर्णय गरेको छ । स्थायी कमिटी बैठकको निर्णयपछि प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई ३ दिनभित्र जवाफ पठाउन भन्दै स्पष्टीकरण सोधेको छ ।
सो सम्बन्धी निर्णय बोकेर नेताहरु बालुवटार पुगेका छन् । नेता सुरेन्द्र पाण्डेले आफुसहित तीन जना नेता बालुवाटार गेटमा पुगेर ओलीलाई स्पष्टीकरण सोध्ने पत्र बुझाएका हुन् ।

ओलीलाई स्पष्टिकरण सोधिएको पत्र बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासको सचिवालयमा दर्ता भएको नेता पाण्डेले जानकारी दिए । स्पष्टीकरण पत्रमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।

पत्रमा भर्निको छ, ‘पार्टीको सिद्धान्त, नीति, विधि, हित विपरित र पार्टी विरोधी गतिविधि गरिरहनुभएकाले तपाईलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन किन नगर्ने ?’ नेकपाको पार्टी विधानको धारा ५६ मा अनुशासनको कार्बाहीबारे उल्लेख गरिएको छ ।
यस्तो छ स्पष्टिकरण पत्र
‘कमरेड तपाईंले पार्टी अध्यक्षको गरिमामय पदमा रहँदा संविधानको ठाडो उल्लंघन गरी प्रतिनिधिसभा विघटनको कदम चालेर संविधान र लोकतन्त्रमाथि घात गरी देश र पार्टीमाथि गम्भीर आघात पुर्‍याएको, हाम्रो पार्टी नेकपाको अन्तरिम विधानको धारा ५६ (क)को (१), (२), (३), (४) र (५) उल्लंघन गरी पार्टी अनुशासन उल्लंघन गरेकाले पुस ७ गते बसेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पार्टी विधानको धारा ५६ को उपधारा (१) अनुसार पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो,’ स्पष्टीकरण पत्रमा भनिएको छ ।

केन्द्रीय कमिटीले पार्टी अध्यक्षबाट हटाइसकेपछि पनि पार्टी निर्णयको उल्लंघन गर्दै आफूलाई पार्टी अध्यक्षकै रूपमा प्रस्तुत गरेकाले स्पष्टीकरण सोधिएको उल्लेख छ ।

थप भनिएको छ, ‘आफूलाई अध्यक्ष भन्दै सार्वजनिक रूपमा प्रस्तुत गरेर पार्टीविरोधी गतिविधि जारी राख्नुभएकाले स्थायी कमिटीको यही माघ २ गते बसेको सातौं बैठकले पार्टी विधान, नीति, विधि, हितविपरीत गतिविधि गरिरहनुभएकाले तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने भनी स्पष्टीकरण सोध्ने निर्णय गरेअनुरूप पार्टीको अन्तरिम विधानको धारा ५६ को (ख) को (१०) बमोजिम यो स्पष्टीकरण पत्र लेखिएको छ । पार्टी विरोधी गतिविधि गरिहनुभएका तपाईंलाई सदस्यबाट निष्कासन किन नगर्ने ? पत्र प्राप्त गरेको वा तपाईंको निवासमा टाँस गरेको मितिले तीन दिनभित्र स्पष्टीकरण दिनुहोला । तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए तपाईंलाई थप कारबाही हुने बेहोरा सूचित गरिन्छ ।

पार्टी विधानको धारा ५६ (ख)को (१०) मा पार्टीका विरुद्ध शत्रुतापूर्ण गतिविधि गरेको वा धारा ११ (क) बमोजिम स्वतः पार्टी सदस्यता वा संगठित सदस्यता समाप्त हुने अवस्थामा बाहेक कुनै पनि सदस्य वा संगठित सदस्य वा कमिटीमाथि कारबाही गर्नुअघि स्पष्टीकरणको मौका दिइने उल्लेख छ । यसैले उनलाई सफाइको मौका दिइएको नेकपाले जनाएको छ ।