Swornakshar Logo

प्रचण्ड नेपाल पक्षले लुम्बिनी र गण्डकी प्रदेशका ईन्चार्ज हटाइए, नयाँलाई जिम्मा

काठमाडौं । २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशका ईन्चाज पृथ्वी सुब्बा गुरूङ र लुम्बिनी प्रदेश ईन्चाजबाट शंकर पोखरेललाइ हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पोखरेल लुम्बिनी र गुरुङ गण्डकीका मुख्यमन्त्री समेत हुन् । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले दुई प्रदेशमा नयाँ ईन्चार्ज तोकेको हो । जस अनुसार युवराज ज्ञवाली लुम्बिनी प्रदेशका ईन्चार्ज बनेका छन् भने देवेन्द्र पौडेललाई गण्डकी प्रदेश ईन्चाज तोकिएका छन् । बैठकपछि स्थायी कमिटी सदस्य रघुजी पन्तले दिएको जानकारी अनुसार, आजको बैठकमा राष्ट्रिय परिस्थितको बारेमा छलफल भएको, पहिलो चरणको आन्दोलनको समिक्षा गरिएको तथा त्यो आन्दोलन राम्रो र प्रभावकारी भएको ठहर गर्दै आगामी आन्दोलनका तयारीका बारेमा बृहत छलफल भएको छ ।

आगामी आन्दोलनलाई प्रभावकारी बनाउन सम्पूर्ण पार्टी शक्तिलाई परिचालन गर्ने निर्णय गरियो । आन्दोलनको तयारी मूलत संयुक्त आन्दोलनका लागि प्रयास, ढोका खुल्ला रहन्छ, आफ्नै पार्टी शक्तिको भरमा आन्दोलन अगाडि बढाउछौं, उनले भने । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनपछि दुई अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गरेको पहिलो पटक हो । यसअघि केपी ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गर्न दिएका थिएनन् ।

नेकपाको बहुमत केन्द्रीय सदस्यबाट ओलीलाई बर्खास्त गरेपछि नेपाल सोही दिन अध्यक्षमा चयन भएका थिए । केन्द्रीय कमिटीले नेपाललाई अध्यक्ष चयन गरेको दोस्रो साता पार्टी एकताको भाव आउने गरी प्रचण्डले अध्यक्षताको जिम्मा दिएको एक स्थायी कमिटी सदस्यले बताए । ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुँदा जुन स्पिरिड थियो अहिले कार्यान्वयन भएको छ । हिजो अध्यक्ष प्रचण्डले आज अध्यक्ष नेपालले स्थायी कमिटीको अध्यक्षता ग्रहण गर्नुभयो । नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटीले पार्टी जीवनका लागि महत्वपूर्ण निर्णयहरु गरेको छ’