Swornakshar Logo

आउने चुनावमा प्रत्यक्षतर्फ १२० सिट र समानुपातिकमा ५० लाख भोट ल्याउँछौंः ओली

काठमाडौं । ७ पुस । कामचलाउ सरकारका प्रधानमन्त्री एवं ओली नेकपा समुहका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १२० सिट र समानुपातिकतर्फ ५० लाख भोट ल्याउने बताएका छन् ।

आगामी चुनावमा पार्टीले स्पष्ट दुईतिहाइ बहुमत ल्याउने भन्दै त्यही अनुसार चुनावको तयारी गर्न केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको ओली पक्षीय केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै ओलीले कुनै पनि शक्तिले चुनाव रोक्न नसक्ने बताए ।

‘देश चुनावतिर अगाडि बढ्यो, चुनावलाई कुनै तागतले रोक्न सक्दैन । अब हामी सम्पूर्ण तागत चुनावमा लगाउँछौं,’ बैठकमा ओलीको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य एवं राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले लोकान्तरसँग भने, ‘समानुपातिकतर्फ ५० लाख भोट र प्रत्यक्षतर्फ १२० सिट ल्याउने गरी हामी अगाडि बढ्छौं ।’

गत निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ११६ सिट जितेको थियो । समानुपातिकतर्फ नेकपाका ५७ सांसद थिए । अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले विगतभन्दा राम्रो नतिजा ल्याउने दावी गरे ।

अध्यक्ष ओलीले संसद पार्टीका केही नेताको महत्त्वाकांक्षाको शिकार बनेका कारण प्रतिनिधिसभा विघटनको बाध्यात्मक कदम चाल्नुपरेको बताएका थिए ।

ओली पक्षीय केन्द्रीय समितिको बैठकले आगामी मंसिर २ गतेदेखि पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ ।