Swornakshar Logo

मन्त्रिपरिषद् बैठकबाट आज अध्यादेशबारे फिर्ता भएन

काठमाडौं । २ पुस । मन्त्रिपरिषद् बैठकले विवादास्पद संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएन । आजको मन्त्रीपरिषद बैठले उक्त विवादीत अध्यादेश फिर्ता लिने निर्णय गर्ने अपेक्षा गरिएपनि आजको बैठकमा सामान्य छलफल समेत भएन । बैठकमा सहभागी मन्त्रीहरुका अनुसार आजको बैठकमा अध्यादेश फिर्ताबारे कुनै छलफल नभएको बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बुधबार बसेको बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेपनि आजको बैठकमा सामान्य छलफल समेत नभएको हो ।
अध्यादेश फिर्ताका लागि सरकारले निर्णय गरेर राष्ट्रपतिकहाँ सिफारिस गर्नुपर्छ । ऊर्जा मन्त्री वर्षमान पुनले आजको बैठकमा अध्यादेश फिर्ताबारे कुनै छलफल नभएको बताए ।

यस्तै अर्का एक मन्त्रीले पनि आजको बैठकमा अध्यादेशबारे नै छलफल र आवश्यक निर्णय हुने अपेक्षा गरिएको भएपनि त्यसो नभएको बताए ।

उनले भने, ‘मंगलबारको बैठकमा पनि कुनै सुइँको नदिइकन अध्यादेश राष्ट्रपतिबाट जारी गराइयो । आजको बैठकमा पनि केही छलफल भएन । अस्ति कुनै सुइँकै नदिएजस्तै आजपनि राष्ट्रपतिबाट जारी भएपनि मात्रै थाहा पाइने हो कि ?’ उनका अनुसार बैठकमा अन्य सामान्य एजेण्डाहरुमा छलफल भएपनि अध्यादेशका बारेमा प्रधानमन्त्री केपी ओलीले एक शब्द पनि उच्चारण नगरी मौन बसे ।

संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सहज बनाउने ओलीले अध्यादेश ल्याएका थिए । तर सत्तारुढ दलसहित प्रतिपक्षी दलले समेत चर्को विरोध गरेपछि उनी अफ्ठ्यारोमा परेका थिए ।