Swornakshar Logo

नेपाल भारत ऊर्जा सचिवस्तरीय भर्चुअल बैठक भोली बस्दै

काठमाडौं । २४ मंसिर । नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक मंसिर २५ र २६ गते हुने भएको छ ।
बैठकमा इनर्जी बैंकिङ, अन्तर्देशीय उच्च भोल्टेज प्रसारण लाइनको अध्ययन प्रतिवेदन अद्यावधिक गर्ने विषयमा छलफल हुनेछ ।
यो दुई देशबीचको आठौ उर्जा सचिवस्तरीय बैठक हो । सो बैठकले विगतको बैठकमा उर्जा सम्बन्धी दुई देशबीच भएको सहमति कार्यान्वयनको विषयमा जोड दिनेछ । कोरोनाका कारण सो बैठक भर्चुअल माध्यमबाट हुन लागेको छ ।
नेपाल र भारतबीचको संबादहिनता अन्त्य भएसँगै नेपालको प्रस्तावमा भर्चुअल बैठक हुन लागेको हो । सातौ बैठकमा भएका एजेन्डा कार्यान्वयनका बिषयमा अहिले हुन लागेको आठौँ बैठकमा छलफल हुनेछ ।

सातौ बैठक भारतको बैंग्लोरमा भएको थियो । सातौ बैठकले नेपाल, बंगलादेश र भारतको त्रिपक्षीय बैठक बसेर नेपालको विजुली भारत निर्यात गर्ने एजेण्डा रहेको थियो । त्यस्तै टनकपुरबाट भारतले दिदै आएको विजुलीको विषयमा पनि बैठकको एजेण्डा रहेको छ । भारतले टनकपुरबाट दिदै आएको सात करोड युनिट विजुली निशुल्क दिदाँ नेपालले धेरै प्रयोग गरेको भन्दै बढी भएको विजुलीको हिसावको विषयमा भारतीय पक्षले चासो देखाएको छ । भारतले आठौ बैठकमा टनकपुरबाट दिएको सात करोड युनिट विजुली बाहेकको विजुलीमा आफूहरुले छुट्टै हिसाव राख्न पाउनुपर्ने माग राख्न सक्नेछन् । टनकपुरबाट नेपाललाई दिएको विजुलीमा मिटर नहुदाँ भारतीय पक्षले सात करोड युनिट भन्दा धेरै विजुली नेपालले लगेको हुन सक्ने आँकलन गरेको छ ।

बैठकको नेतृत्व नेपालको तर्फबाट ऊर्जा सचिव दिनेशकुमार घिमिरे र भारतीय विद्युत् मन्त्रालयका सचिव सञ्जीव नन्दन सहायले गर्नेछन् । त्यसैगरी सहसचिव स्तरीय बैठकको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव प्रवीण अर्यालले गर्ने छन् भने उनको भारतीय समकक्षीमा अतिरिक्त सचिव एसकेजी राहते छन् ।
आठौं बैठकमा चार सय केभीको (न्यू) बुटबल—गोरखपुर अन्तर्देशीय प्रसारण लाइन र न्यू नौतनवा—मनैया (लुम्बिनीतर्फ) १३२ केभी नयाँ लाइन निर्माण पनि प्रमुख एजेन्डा छन् । यस अघिको बैठकमा नेपालको सरप्लस इनर्जी भारतको बजारमा विक्रि गर्नका लागि सहमति भएको थियो । भारतीय उर्जा मन्त्रालयले सरप्लस (जगेडा विजुली) किन्नका लागि कार्यविधि बनाएर अनुमति दिनुपर्नेछ । सो प्रस्ताव हाल बिचाराधीन अबस्थामा रहेको छ । हाल नेपालमा जलविद्युत् आयोजनाहरु धमाधम निर्माण भइरहेको अबस्थमा उत्पादित विजुली कहाँ पठाउने भन्ने विषयमा बहस चलिरहेको छ ।

इनर्जी बैकिङका विषयमा भारतले ग्रिन सिग्नल देखाएमा नेपालमा उत्पादित विजुली भारतको बजारमा पठाउन सहज हुनेछ । साथै नेपालमा अभाव भएका बेलामा भारतबाट आयात गर्न सकिनेछ । हाल नेपालमा भारतबाट मात्र विद्युत आपूर्ति भइरहेको छ । विद्युत् आयात र निर्यात गर्ने विषयमा यसअघि नै पोखरामा भएको छैठौ बैठकमा भारतसँग सहमति गरेको थियो । तर, अझै पनि सो विषय कार्यान्वयनको चरणमा आइसकेको छैन ।