Swornakshar Logo

पद घुम्ने डरले बैठकबाट भाग्छन् ओली

काठमाडौं । २२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को छैठौं स्थायी कमिटीको बैठक पार्टी कार्यलय धुम्बाराहीमा आइतबारबाट सुरु भएको छ । तर यस्तो औपचारिक बैठकमा आफुलाई पहिलो नम्बरको अध्यक्ष घोषणा गदै आएका केपी शर्मा ओली नै उपस्थित भएनन् ।

ओलीले आफैं उपस्थित भएर गरेका निर्णयहरु पनि नमानेको उदाहरण विगतमा बग्रेल्ती छन् । गत फागुन १४ मा सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय ग¥यो । निर्णय गरेको केहि घण्टामा नै ओलीले उक्त निर्णय नमान्ने घोषणा गरे । उक्त निर्णय कार्यन्वयन हुन धेरै समय मात्र लागेन सचिवालयले दोहो¥याएर निर्णय लिनुपर्यो ।
हिजो धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा पनि ओलीले दुई पृष्ठको पत्र पठाएर आफु बैठकमा उपस्थित हुन नसक्नुको कारण खुलाए । जुन बैठकलाई उनले भावकु हुदै पत्र पठाएका छन् त्यहि बैठकलाई उनले एक दिन पहिला रत्यौलीको संज्ञा दिएका थिए । उनको चाहना थियो स्थायी कमिटीको बैठक नबसोस । सकेसम्म आफुले बैठकको सामना गर्नु नपरोस । तर सचिवालयमा भएका बुहमत सदस्यले स्थायी कमिटीको बैठक बस्ने अडान राखेपछी ओलीको चाहना पुरा भएन ।
२८ कार्तिकको सचिवालय बैठकमा प्रचण्डले प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव स्वीकार्न ओली तयार छैनन् । प्रस्तावमा उल्लेखित विषयमात्र हैन सो प्रस्तावलाईनै ओलीले लान्छना पत्रको संज्ञा दिएका छन् । तर सचिवालयको बैठकमा भने ओलीले प्रचण्डको प्रस्तवाको लिखित जवाफ दिएका थिए । यदि प्रचण्डको प्रस्ताव प्रस्ताव नै थिएन भने ओलीले किन जवाफ लेखेर सचिवालयमा पेश गरे ? ‘आफुले प्रचण्डको प्रस्तावमाथिको छलफलमा भाग लिएर लिखित जवाफ दिनु भयो तर अन्य सदस्यलाई भाग नलिनुहोस भन्दै हुनुहुन्छ त्यो गलत हो,’ स्थायी कमिटी सदस्य वेदुराम भुसाल समाचार दैनिकसँग भन्छन, ‘अध्यक्ष केपी ओलीको भनाइ र गराइमा विरोधाभास छ । छलफल गर्न लायक प्रचण्डको प्रस्ताव छैन भने किन उहाँले सचिवालयमा १० दिन समय माग्नु भयो र लिखित रुपमा जवाफ दिनु भयो ? उहाँले छलफलमा भाग लिइसक्नुभएको हो नि त्यो भनेको ।’

‘अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाउनु भनेको बैठकलाई स्वीकार्नु हो, बैठकमा सशरीर उपस्थित नभएपनि आफ्नो विचार लेखेर पठाउनु भएकाले उहाँको बैठकमा उपस्थित भएसरह हो,’ स्थायी कमिटी सदस्य भिम रावलले बैठक सकिएपछि प्रतिक्रिया दिएका थिए । नेकपाका स्थायी कमिटी सदस्यहरुका आ आफ्नै बुझाइ छन् ।

तर ओलीले स्थायी कमिटीको बैठकलाई स्वीकारेर नै पत्र पठाएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेल बताउछन् । उनले भने ‘स्थायी कमिटीलाई सम्बोधन गरेर पत्र लेखेपछि त बैठक स्वीकारेको हो । बैठकलाई भनेर पत्र पठाउनु भएको छ । नेताहरु कहिले काँहि उपस्थित नहुन सक्छन् ।’ नेकपाको अहिलेको झगडा विचारको भन्दा पनि नेता व्यवस्थापन भएको बताउने पनि छन् ।

ओलीले पनि आफ्नो पत्रमा भनेका छन्, ‘पार्टीभित्र विवाद बढ्नुमा महाधिवेशन भन्दा पहिला नेतृत्व परिवर्तन गर्न खोज्नु र निर्वाचन भन्दा पहिला नै सरकारको नेतृत्व बदल्न खोज्नु । जबकि पार्टी नेतृत्व परिवर्तनकालागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्नकालागि जनादेश पर्खिन नसक्ने सोचका कारण पार्टीमा संकट आएको हो ।’

आफु उपस्थित नभएपनि ओलीले भरोसा भने स्थायी कमिटी बैठकमाथि देखाएका छन् । बैठकमा आफु पक्षीय भनेर चिनिएका नेता पनि पठाएका छन् । उनको भरोसा भन्दा पनि भावनात्मक बल्याकमेलिङ भएको एक जना स्थायी कमिटी सदस्य बताउछन् । ती सदस्यले भने, ‘स्थायी कमिटीलाई भरोसा गर्ने भए किन हुल्लडबाज भन्नु हुन्थ्यो । उहाँको पद जाने चिन्ताले भावनात्मक बल्याकमेल गर्नु भएको हो । अब उहाँको यो रणनीतिले काम गदैन ।’

४४ जना स्थायी कमिटी सदस्यहरुमा सबै जना आउँदा ओली मात्र नआउँदा कमिटीको भन्दा उनको महत्व बढी हो भन्ने देखाउन खोजेको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउछन् । उनले भने, ‘कम्युनिस्ट पार्टीका बैठक महत्वपूर्ण हुन्छन् । बैठकका निर्णयहरु सबैले मान्नु पर्छ । तर ओलीले पटक पटक नेकपा पार्टी भन्दा आफुलाई माथि देखाउदै आएका छन् । जुन पार्टी विधि विधान भन्दा उल्टो हो ।’

‘प्रचण्डले आरोप लगाएको हो भने पनि त्यसको जवाफ दिएपछि पनि बैठकमा आउनु पर्छ । पार्टीमा कसैले आरोप लगाएमा पनि त्यसको बहस छलफल कमिटीमा हुनु पर्छ । यदि आफुमाथि लागेका आरोप असत्य हुन भने त्यसको जवाफ दिएर आफुलाई सत्य सावित गर्नु पर्छ,’ नेता भुसाल भन्छन् । भुसालले भने ‘अदालतमा कसैलाई आरोप लगाएर मुद्धा परेमा आरोप लागेको मानिस गएर सफाइ दिनु पर्छ । अथवा आफ्ना कुरा राख्नु पर्छ । अदालतमा नै गएन भने एक पक्षमा निर्णय हुन्छ । यो पार्टी पनि त्यहि हो । उहाँलाई लागेका आरोप स्थायी कमिटीमा आएर सफाइ दिए भइहाल्यो नि किन भाग्नु ?’

‘ओली बैठकमा उपस्थित नहुन कतै अझै पहिलाका जसरी पद बची हाल्छ कि भन्ने सोचाइ रहेको पनि हुनसक्छ । बैठकमा जादा बहुमत अल्पमत हुन्छ । आफु अल्पमतमा भएको ओलीलाई थाह छ । बहुमतले निर्णय गरेपछि स्वीकानु पर्छ । त्यो भन्दा बैठकमा नै नगएर बैठक रोक्न सके तत्काललाई समस्या टर्ने उनको बुझाइ रहेको हुनसक्छ, विश्लेषक श्रेष्ठको बुझाइ छ । श्रेष्ठ भन्छन्, ‘पार्टीमा बहुमत अल्पमत नहुने भन्ने हुन्न । हुन्छ । भए सहमतिमा नभए निर्णय गर्ने विधि भनेको बहुमत अल्पमत हो । यसबाट भाग्नु भनेको पार्टी कमिटी भन्दा बाहिर गएर हल खोज्नु हो जुन सहि होइन ।’

ओलीले बैठक स्वीकारेर पत्र लेखेकाले २८ गतेको बैठक ओली आएपनि नआएपनि अगाडि बढ्ने भुसाल बताउछन् । सचिवालय ,स्थायी कमिटीमा अल्पमतमा भएपछि ओली बैठकबाट भाग्न खोजेको आरोप लाग्दै आएको छ । एक स्थायी कमिटी सदस्य भन्छन् ‘आफ्नो पदको छिनो फानो हुने बैठकमा किन आउथे ओली । सकेसम्म टार्न चाहन्छन् ।’

ओली पार्टी भित्रका विवाद सचिवालयमै वा कार्यदल बनाएर हल गर्न चाहान्थे । स्थायी कमिटी र केन्द्रीय कमिटी गएमा बहुमतबाट निर्णय हुने र आफु अल्पमतमा पर्ने ओलीले पहिलेनै हिसाव निकालिसकेका छन् । तर उनी बैठक राख्ने कुरामा बहुमतको निर्णय मान्न बाध्य भएका छन् । उनी बैठकमा नगएपनि उनको समुहका सबै स्थायी कमिटी सदस्य बैठकमा उपस्थित भएका छन् । यस्तो अवस्थामा नेकपा भित्रका विवादीत विषय सहमति अल्मत बहुमतको आधारमा निर्णय हुने स्ष्पट रहेको नेता भुसाल बताउछन् ।